गृहपृष्ठ अल्बेनिया भूकम्प : उद्धारमा रातभर सुरक्षा निकाय परिचालन
अल्बेनिया भूकम्प : उद्धारमा रातभर सुरक्षा निकाय परिचालन
अल्बेनियामा २० जनाको ज्यान जाने गरि गएको ठूलो भूकम्पपछि उद्धारकर्ताहरू रातभरी घाइते तथा बेपत्ताको खोजीमा जुटेका छन् ।
६.४ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु राजधानी टिरानाबाट ३४ किलोमिटर उत्तरपश्चिमतर्फ रहेको बताइएको छ ।
मानिसहरू सुतिरहेको बेला बिहान सबेरै भूकम्प गएको थियो । भवनहरूमा च्यापिएका मानिसहरूको खोजी कार्य अहोरात्र चलिरहेको छ ।
केन्द्रविन्दु
केन्द्रविन्दु नजिकका डुरेस र थुमान नगरमा सबैभन्दा बढी क्षति भएको बताइएको छ । ती स्थानमा विपद् पीडितको बसोबासका लागि अस्थायी शिविरहरू बनाइएको छ ।
प्रधानमन्त्री एदी रामाले उद्धारकर्ताहरूले पीडितको सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
उनले ‘हराइरहेका मानिसहरूको धैर्यका साथ अन्त्यसम्म नै खोजी गरिने’ बताए । सरकारले बुधवार राष्ट्रिय शोक घोषणा गरेको छ ।
युरोपेली आयोगले इटली, ग्रीस र रुमानियाबाट उद्धारकर्ताहरू पठाइएको जनाएको छ । कोसोभो र मोन्टिनिग्रोबाट पनि उद्धार टोलीहरू अल्बेनिया गएको बताइएको छ ।
मंगलबारको भूकम्प दशकौँपछि अल्बेनियामा गएको सबैभन्दा ठूलो भएको अधिकारीहरूले बताएका छन् ।
खोज तथा उद्धार प्रयास
करिब १५ जना मानिस अझै हराइरहेका छन् । भत्किएका भवनका भग्नावशेषबाट ४० जनाभन्दा बढीको जीवितै उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।
सैनिक, प्रहरी र आपतकालीन सेवाका कर्मचारीहरू टाउकोमा टर्च जोडेर भवनका भग्नावशेषमा खोज तथा उद्धार कार्यमा खटिएका छन् ।
तटीय नगर डुरेस र राजधानी टिरानादेखि उत्तरतिर पर्ने थुमान नगरमा कैयौँ घाइतेको जीवितै उद्धार गरिएको छ । भूकम्पपछि हजारौँ अल्बेनियालीहरू घरबार विहीन भएका छन् र उनीहरू सेनाले बनाएका शिविरमा बस्न बाध्य छन् ।
भूकम्प कति खराब ?
स्थानीय समयअनुसार बिहान ३.५४ मा भूकम्प गएको थियो । त्यसपछि पनि परकम्पहरू गइरहेका छन् । थुमानमा एउटा पाँच तले भवन भत्किएको छ । त्यहाँभित्र कयौँ मानिस च्यापिएका छन् जसको खोजी जारी छ ।
भूकम्पको जोखिम कस्तो ?
एएपपीका अनुसार भूकम्पका बेला अचानक सडक भत्किँदा कार चलाइरहेका एकजनाको दुर्घटनामा परेर ज्यान गएको छ ।
भूकम्पपछि झ्यालबाट हामफालेका अर्का एक पुरुषको पनि मृत्यु भएको छ । बाल्कन क्षेत्र भूकम्पको जोखिममा छ । त्यहाँ सन् १९७९ मा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यतिबेला अल्बेनियामा १३६ जनाको ज्यान गएको थियो भने एक हजारजना भन्दा बढी घाइते भएका थिए । (बिबिसीबाट)
प्रकाशित समय १०:४६ बजे


















