गृहपृष्ठ अयोध्याबाट मिथिला आए जन्ती, जनकपुरधाम झकिझकाउ
अयोध्याबाट मिथिला आए जन्ती, जनकपुरधाम झकिझकाउ
रामजानकी विवाह पञ्चमीका लागि भारतको अयोध्याबाट नेपालको जनकपुरधाम प्रस्थान गरेका जन्ती बिहीबार जनकपुर क्षेत्र प्रवेश गरेका छन् । राजा जनक र विभिन्न मठमन्दिरका साधुसन्तसहित करिब ५ सय जन्ती बुधबार राति नै महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ आएर विश्राम गरेका थिए ।
जन्तीलाई मटिहानीमा लक्ष्मीनारायण मठका महन्थ, पुजारी र जनप्रतिनिधिले भव्य स्वागत गरेका छन् । बराती दिउँसो प्रिपा आउँदै बेलुकासम्म जनकपुर आइपुग्नेछन् । जन्तीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम छ ।
स्वागत कार्यक्रमका लागि ऐतिहासिक रंगभूमि मैदानलाई झकिझकाउ पारिएको छ । त्रेता युगमा सीता स्वयंवरका बेला गुरु विश्वामित्रसंँग रामलक्ष्मण जुन बाटो भएर आएका थिए, त्यही बाटो जन्ती आउने गर्छन् ।
यसैबीच, बिहीबार जनकपुरमा धनुष यज्ञ कार्यक्रम आयोजना गरिएको छ । धनुष यज्ञमा माता सीतासँग स्वयंवरका लागि रामले धनुष तोड्ने कार्यक्रम छ ।
जनकपुरमा भक्तजनको घुइँचो
जनकपुरधाममा अहिले श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरमा जानकी लीला कार्यक्रम भइरहेको छ । जानकी मन्दिर दर्शन गर्न अहिले दैनिक हजारौं भक्तजन पुग्ने गरेका छन् ।
विवाह पञ्चमी कार्यक्रमअन्तर्गत शुक्रबार तिलकोत्सव हुनेछ । राममन्दिरमा हुने तिलकोत्सवमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन् ।
प्रकाशित समय १२:३६ बजे



















