गृहपृष्ठ मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती

मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती

फाइल तस्बिर

कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका-७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’ को खेती सुरु गरेको छ । सिउँडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महँगो मानिन्छ । दुई वर्षमा फल्ने यो फलको लहरामा लगातार २५ वर्षसम्म फल लागिरहन्छ ।

कपडा, धागोलगायतका उद्योग सञ्चालन गरिरहेको गोल्यान घरानाले नयाँ उद्यममा लगानी बढाएको हो । प्रालिले मदरगाछमा ‘ड्रागन फ्रुट’ मात्र नभएर स्ट्रबेरी, मेवा र कागतीको पनि व्यावसायिक खेती गरिरहेको छ । यो खेती उष्ण मनसुनी हावापानी भएको माटोमा फस्टाउने हुँदा यहाँको माटो यसका लागि उर्वर रहेको प्रालिका व्यवस्थापक नवीन खनालले बताए ।

हाल यहाँ ६ हजार बिरुवा हुर्किरहेका छन् । १ हजार ५ सय वटा आठ फिटभन्दा अग्ला सिमेन्टका पोल लहरै गाडिएका छन् । एउटा सिमेन्टको पोलमा चार वटा लहरा हुर्किरहेका छन् । खेतीमा १५ जना स्थानीय कामदारले रोजगारी पाइरहेका छन् ।

गोल्यान समूहले ‘ड्रागन फ्रुट’ खेतीमा २ करोड रुपैयाँभन्दा बढीको लगानी गरिसकेको र अर्को वर्ष खेती विस्तार गरेर तेब्बर पार्ने योजना रहेको व्यवस्थापक खनालले बताए । दाङ र काभ्रेमा पनि ‘ड्रागन फ्रुट’ को खेती भइरहेको छ । यो फल विसं २०५७ मा पशु चिकित्सक डा. जगन्नाथ राईले एक अमेरिकी इन्जिनियरमार्फत भियतनामबाट नेपाल भित्र्याएको मानिन्छ ।

खनालका अनुसार सिउँडी हुर्किने गर्मी ठाउँमा यो फलको खेती हुन्छ । स्वास्थ्यका लागि लाभदायक १२ प्रकारका खनिज, पोषण र भिटामिन तत्वको मिश्रण पाइने भएकाले विश्वभर नै यसले महँगो मानिन्छ ।

एउटा सिमेन्टको पोलमा लहरिएका बोटबाट बर्सेनि २० देखि ३० किलोसम्म फल उत्पादन गर्न सकिने र यसको बजार मूल्य ८ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म हुने बताइएको छ । यो फलबाट उच्चस्तरको आइसक्रिम र इनर्जी ड्रिंक पनि बनाउन सकिन्छ । (रासस)

प्रकाशित समय १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु