गृहपृष्ठ विद्युतीय बसको अझै टुंगो लागेन
विद्युतीय बसको अझै टुंगो लागेन
सरकारले साझा यातायातमार्फत खरिद गर्ने भनिएका विद्युतीय बसको अझै टुंगो लाग्न सकेको छैन । बस खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको ३ अर्ब रुपैयाँको सेयर खरिद गरेको पाँच महिना बित्दासमेत खरिद प्रक्रिया अन्योलमा छ ।
सरकारले दिएको ‘स्पेसिफिकेसन’ (कस्तो बस खरिद गर्ने भन्ने विवरण) र साझाले बस खरिदका लागि गरेको तयारीमा फरक देखिएको भनी दसैं पहिले खरिद प्रक्रिया अघि नबढाउन साझालाई निर्देशन दिएको थियो । त्यसपछि मन्त्रालय र संस्थाबीच दुई पटक बैठक भए पनि टुंगो लाग्न नसकेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए ।
उनका अनुसार बस खरिद साझामार्फत नै गरिने भए पनि कुन रूपमा गर्ने भनी टुंगो लाग्न नसकेको हो । उनले भने, ‘आगामी बैठकबाट बाँकी विषय टुंग्याएर बस खरिद प्रक्रिया अघि बढाइनेछ ।’ काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा ठूला बस सञ्चालन गर्दै आएको साझाले नेपाल सरकार मात्रै नभएर प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा विद्युतीय बस खरिद गर्ने र सञ्चालन गर्ने योजना बनाएको थियो ।
विद्युतीय बस खरिदका लागि प्रदेश नं ३ ले ३० करोड रुपैयाँ, काठमाडौँ महानगरपालिकाले १० करोड रुपैयाँको सेयर खरिद गरेका थिए । ललितपुर महानगरपालिका र साझा आफैँले २ करोड ५० लाख रुपैयाँ लगानी गरेर विद्युतीय बस खरिद गर्ने बताइएको थियो । (रासस)
प्रकाशित समय १५:४१ बजे

















