गृहपृष्ठ सुन किनबेच बढ्यो, न्युरोडका पसलमा घुइँचो
सुन किनबेच बढ्यो, न्युरोडका पसलमा घुइँचो
न्युरोडका सुन पसलमा ग्राहकको घुइँचो । फाइल तस्बिर
साउन लागेपछि उच्च मूल्यवृद्धिसँगै ठप्प भएको सुन बजार पूर्ववत् अवस्थामा फर्किएको छ । तिहारदेखि केही सुधार आएको सुन बजार मंसिर लागेपछि पहिलेकै अवस्थामा आइसकेको व्यापारीले बताएका छन् ।
दुई महिनामै १० हजारभन्दा बढी मूल्यवृद्धि भएपछि सुन बजार करिब ठप्प भएको थियो । पुराना गरगहना बेच्नेको भीड लागेपछि व्यापारीले नयाँ सुन पनि किनेनन् । फलतः साउनदेखि असोजसम्मको अवधिमा यो वर्ष जम्मा ६ करोडको सुन आयात भयो । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म जम्मा ६ करोड ५ लाख रुपैयाँको सुन आयात भएको छ । जबकि गत वर्षको सोही अवधिमा ७ अर्ब ५६ करोड ११ लाख ५० हजार रुपैयाँको सुन आयात भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य पुराना गरगहना ठूलो मात्रामा बजार भित्रिएकोले सुन आयात र बिक्री ठप्प भएको बताउँछन् । ‘अहिले विस्तारै बजारले लय पक्डिँदै छ,’ उनले भने । विवाहको सिजन भएकाले सुन खरिद बढेको उनले बताए ।
महाकाली ज्वेलर्सका सञ्चालक राजेश जगडिया पनि पुराना गरगहनाका कारण नयाँ असोजसम्म सुन किन्नु नपरेको बताउँछन् । ‘हामीकहाँ ठूलो परिमाणमा पुराना गरगहना आए, नयाँ किन्ने त सम्भावनै रहेन,’ उनले भने, ‘तिहारदेखि केही चहलपहल बढेको छ, अहिले बजार करिब पूर्ववत् अवस्थामै आइसक्यो ।’ शुक्रबार पनि विहानैदेखि न्युरोडका पसलमा ग्राहकको भीड लागेको थियो ।
तिहार अगाडिसम्म पसलमा बेच्नेको मात्रै घुइँचो लाग्ने गरेको उनले बताए । तिहार आसपासदेखि पुराना गरगहना आउन छाडेको र व्यवसायीले नयाँ सुन किन्न थालेको जगडियाको भनाइ छ । अहिले बजारमा दैनिक २० किलो सुन खपत भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
व्यवसायी जगडिया नेपालको बजारमा तस्करीको सुन प्रयोग नहुने तर्क गर्छन् । नेपालमा भन्दा भारतमा सुन महँगो भएकाले नेपाललाई ट्रान्जिट बनाइएको हुनसक्ने तर नेपालमै खपतका लागि सुन तस्करी नहुने व्यवसायीहरु बताउँछन् । ‘नेपाल-भारत खुला सीमाको फाइदा उठाउने जान्दा जान्दै नेपाली बजारमा किन तस्करले सुन बेच्लान् र ?’ न्युरोडका एक सुन व्यवसायीले प्रश्न गरे ।
शुक्रबार प्रतितोला छापावाल सुन ७१ हजार ३०० र तेजावी सुन ७१ हजार रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
नक्कली सुन पसलमा पनि उस्तै भीड
मंसिर लागेपछि सुनजस्तै देखिने जलप लगाएका गरगहना किन्नेको पनि भीड लाग्ने गरेको छ । हेर्दा सुन जस्तै देखिने तर हजार-बाह्र सय रुपैयाँमा गतिला गरगहना पाइने भएपछि मध्यम वर्गमा महिलाहरुको यस्ता पसलमा भीड बढेको हो ।
न्युरोडको स्वस्तिक सिटी शृंगारमा भेटिएकी एक युवतीले हेर्दा उस्तै देखिने, सस्तो पर्ने र लुटिने डर पनि नभएकाले नक्कली सुनको गहना किन्ने गरेको बताइन् । ‘फेरि-फेरि डिजाइन डिजाइनका लगाउन पनि पाइन्छ,’ उनले भनिन्, ‘कुनै डर पनि हुन्न, म त सधैं यस्तै किन्छु ।’
प्रकाशित समय १५:३९ बजे






















