गृहपृष्ठ पर्यटकको आकर्षणमा जातीय पोसाक
पर्यटकको आकर्षणमा जातीय पोसाक
पर्यटकीय क्षेत्र इलामको कन्याम घुम्ने, वनभोज खाने, रमाइलो गर्नेमात्र नभई विभिन्न जातीय पोसाकका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ । कन्याम पुग्ने अधिकांश पर्यटक जातीय पोसाक लगाएर फोटो खिच्ने अनि एक–अर्काको संस्कृतिअनुसारका पोसाकमा रमाउने गरेका छन् ।
सूर्योदय नगरपालिकामा पर्ने कन्याममा दैनिक सयौं पर्यटक घुम्न र रमाइला गर्न पुग्छन् । आन्तरिक तथा बाह्य पर्यटक कन्याम पसग्छन्, वनभोज खान्छन्, विभिन्न जातजातिको भेषभूषा लगाई फोटो खिच्छन् र जातीय नृत्यमा सरिक हुन्छन् ।
कन्याममा विभिन्न क्याम्पस तथा विद्यालयबाट बिद्यार्थी अवलोकन भ्रमणमा पनि आउने गरेका छन् । तनहुँबाट कन्याम शैक्षिक भ्रमणमा आएका गणेशबहादुर खत्रीले संस्कृतिअनुसारका पहिरन र संस्कृति राष्ट्रको गहना भएको बताए । ‘मैले पनि जातीय पोसाक स्मरणकै लागि लगाएको हुँ,’ उनले भने, ‘मलाई हाम्रा सबै समुदायले लगाउने पोसाक र पहिरन एकदमै मन पर्छ । यी हाम्रा संस्कृति हुन् । यसले राष्ट्रको पहिचान झल्काउँछ । त्यसैले स्मरणका लागि फोटो खिच्न पोसाक लगाएका हुँ ।’ जातिअनुसारको पोसाक लगाएर फोटो खिच्न पाउँदा निकै खुसी लागेको तनहुँकै पर्यटक करुणा दरैले बताइन् ।
पर्यटन वर्ष २०२० लाई सफल पार्न कन्यामवासी, पर्यटन व्यवसायी र जनप्रतिनिधि एकजुट भई लागिपरेको व्यवसायी प्रकाश तामाङ बताउँछन् । इलामका विभिन्न पर्यटकीय स्थलमध्येकै प्रसिद्ध कन्याममा जातीय पोसाक लगाएर सुन्दर चियाबारीमा फोटो खिच्नेहरुको सदैव घुइँचो लाग्छ ।
प्रकाशित समय १६:११ बजे

















