गृहपृष्ठ भारतीय पक्षले एकतर्फी कुलो बनाएकामा चर्को विरोध
भारतीय पक्षले एकतर्फी कुलो बनाएकामा चर्को विरोध
पश्चिमी पर्साको ठोरी गाउँपालिका-३ स्थित ठुटेखोलामा भारतीय पक्षले जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेकामा ठोरीवासीले निन्दा गरेका छन् । ठोरीमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका-३ का वडाध्यक्ष सूर्यबहादुर लामाले भारतीय पक्षले पानी मुहान थुनेर दुईवटा कुलो बनाई भारततर्फ पानी लैजाने गरेको बताए ।
ठुटे खोलाको पूर्वतर्फको भिरसँगै रहेको तीनवटा कुलोमध्ये दुई वटा ठूला कुलाबाट भारतीय पक्षले एकतर्फी रूपमा पानी लगेको छ भने एउटा सानो कुलो नेपाली पक्षलाई प्रयोग गर्न दिएको बताउँदै स्थानीयवासी प्रेमबहादुर विक भन्छन्, ‘सोको विरोध गर्दा भारतीयहरुले कुटपिट गर्ने, दबाब दिने भएकाले यसतर्फ नेपाल सरकारले समयमै ध्यान दिनुपर्छ ।’
चितवनको चुरे डाँडामा रहेको पानीको मुहानबाट सो पानी ठुटे खोलामा आउने गरेको र सो खोला हुँदै पानी भारतर्फ जाने गरेको छ । अहिले उक्त खोलामा पानी त्यति मात्रामा नभए पनि कुलो बनाएर भारतर्फ लैजाने गरिएको छ । नेपाली पक्षले उक्त कुलो प्रयोग गर्न खोज्दा भारतीय सुरक्षा बल (एसएसबी), भारतीय किसान र भारत सहोदराका मुखिया आएर कुलोको रेखदेख गर्ने, मर्मतसम्भार गर्ने गरेको बताउँदै स्थानीयवासी ईश्वरी भुजेलले भने, ‘भारतीय पक्षले ४३५ नम्बरको जंगे पिल्लर नेपाली भूमिमा सारेर दक्षिणतर्फको छ कट्ठा नेपाली भूभाग अतिक्रमण गरी भोगचलन गर्दै आइरहेको छ ।’
ठोरीवासीले २०३५ सालको नापीमा उक्त जग्गा नेपालीले भोगचलन गर्दै आएकामा भारतीय पक्षले दशगजा मिचेर जंगे पिल्लर गाडेकामा आपत्ति जनाएको छ । तीन वर्षअघि ठुटे खोलामा पुल बन्यो तर भारतीय पक्षले उक्त पुल सञ्चालनमा अवरोध गरेपछि हाल खोलाबाट सवारी साधन आउने जाने गरेका छन् ।
नेपाली पक्षले सिँचाइका लागि आफ्नो भूमिमा कल्भर्ट बनाउन लाग्दा भारतीय पक्षले अवरोध गर्ने गरेको ठोरीवासीले आरोप लगाएका छन् । यस्तो बलमिच्याइँका कारण दुई देशबीचको सुमधुर सम्बन्धमा आँच आउने भएकाले यसतर्फ भारतीय पक्ष गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ ।
भारतीय तस्करहरुले ठोरीमा आएर नेपाली चेलीसँग विवाह गरी मदिरा पसल सञ्चालन गर्ने तथा होहल्ला, झैझगडा तथा तस्करी गर्ने गरेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा रहेको जंगली हात्तीको आतंक बढेकाले त्यसको नियन्त्रण गर्न निकुञ्ज प्रशासनसँग धेरैपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको ठोरीवासीको गुनासो रहेको छ । (रासस)
प्रकाशित समय १३:१० बजे

















