गृहपृष्ठ मन्त्री मगरले गरिन् पुनर्वास ३ मा मतदान

मन्त्री मगरले गरिन् पुनर्वास ३ मा मतदान

कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा शनिबार भइरहेको उपनिर्वाचनमा खानेपानी मन्त्री बिना मगरले पनि मतदान गरेकी हुन् । मन्त्री मगरले गोरखा माद्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेर बिहान करिब साढे ९ बजेको समयमा मतदान गरेको उनका प्रमुख स्वकीय सचिव प्रकाश मगरले जानकारी दिए ।

बिहान ७ बजेर २७ मिनेटदेखि सुरु भएको मतदान कार्यक्रममा जिल्ला विकास समितिका पूर्व सदस्य क्षेत्र लामाले पहिलो मतदान गरेका थिए । उपनिर्वाचनको सुरक्षाका लागि करिब ३ सय जना सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

जम्मा एक हजार १ सय ९९ जना मतदाता रहेको वडामा पुरुष ५५९ र महिला मतदाता ६४० रहेका छन् । दुई मतदान केन्द्र निर्धारण गरिएको उक्त मतदान स्थलमा ‘क’ मतदान केन्द्रमा ६१६ र ‘ख’ मतदान केन्द्रमा ५८३ मतदाताले मतदान गर्ने गरी केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले जानकारी दिए ।

वि.संं. २०७४ सालको असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सो वडामा निर्वाचित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियो । उक्त पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्णबहादुर तामाङ, नेपाली कांग्रेसका दीपबहादुर तामाङ, समाजवादी पार्टीका भीम तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही उम्मेदवार रहेका छन् ।

प्रकाशित समय १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु