गृहपृष्ठ नेपाल-थाइल्यान्ड मैत्री सम्बन्धको ६ दशक पूरा
नेपाल-थाइल्यान्ड मैत्री सम्बन्धको ६ दशक पूरा
नेपाल र थाइल्यान्डबीच औपचारिक मैत्री सम्बन्ध कायम भएको ६ दशक पूरा भएको छ । दुई देशबीच सन् १९५९ मा औपचारिक कूटनीतिक सम्बन्ध कायम भएको थियो ।
दुई देशबीच कुटनीतिक सम्बन्ध कायम भएको ६ दशक पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीहरूले एक आपसमा बधाइ आदान प्रदान गरेका छन् । नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र थाइल्यान्डका परराष्ट्र मन्त्री दन प्रमुदपिनीले दुवै देशबीचको सम्बन्ध आउँदा दिनहरूमा अझ बलियो भएर जाने विश्वास व्यक्त गरेका छन् ।
वैदेशिक व्यापारका हिसाबले थाइल्यान्ड नवौं प्रमुख वैदेशिक व्यापार साझेदार हो । चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिक अवधिमा थाइल्यान्डबा १ अर्ब १६ करोड रुपैयाँको आयात भएकोमा नेपालबाट केबल ६६ करोड ४९ लाख रुपैयाँको त्यसतर्फ निर्यात भएको छ ।
अधिकांश बौद्ध धर्माबलम्बी भएको थाइल्यान्ड नेपालका प्रमुख पर्यटक स्रोत मुलुकमध्येको एक हो । सन् २०१८ मा ५२ हजार ४२९ थाइ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो कुल पर्यटकको ४.५ प्रतिशत हो ।
आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा १२ करोड ६२ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रवाह भएको उद्योग विभागले जनाएको छ ।
प्रकाशित समय १८:०८ बजे

















