गृहपृष्ठ लिम्बू गाउँमा मासु र मदिरा निषेध
लिम्बू गाउँमा मासु र मदिरा निषेध
नेपालका प्रायः अधिकांश मठमन्दिर र धार्मिकस्थलमा बलि चढाउने परम्परा छ । हरेक परिवारमा मासु नखाने व्यक्ति कमै हुन्छन् । पशुबध र पशुबलीविना पनि धर्मकर्म अपनाइने गाउँ पनि सायदै होलान् । भए पनि धेरैको लागि त्यो अनौठो लाग्नसक्छ । अझ मासु र मदिरारहित लिम्बू गाउँ त धेरैको लागि आश्चर्यको कुरा हुनसक्छ ।
यस्तै अनौठो उदाहरण बनेको छ, इलामको माङ्सेबुङ गाउँ । माङ्सेबुङका प्रत्येक घरमा सूर्यअंकित रातो र सेतो ध्वजा सहितको तीनवटा बाँसको लिङ्गो राखिएको छ । पहिलोपटक त्यहाँ पुग्ने जोकोेहीलाई यो दृश्य अनौठो लाग्नसक्छ ।
तर, यो कुनै पार्टी वा संघ संगठनको झण्डा भने होइन । माङ्सेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने माङसेबुङ गाउँको चिनारी हो यो । किराँतहरुको धार्मिक स्थल माङसेबुङका करिब १५ सय घरमा यस्तै ध्वजासहितको लिङ्गो राखिएको छ ।
दुई वर्ष अघिदेखि गाउँमा माछामासु र जाँडरक्सी निषेध गरी शाकाहारी गाउँ घोषणा गरिएको स्थानीय सुमन लावतीले बताए । उनले भने, ‘हामी त प्रयोग गर्दैनौँ नै । बाहिरबाट यहाँ आउनेलाई पनि सचेत गराउछौँ ।’ सो क्षेत्रमा जताभावी फोहोर गर्न, सुँगुर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न प्रतिबन्ध लगाइएको छ ।
लिम्बू भाषामा ‘माङ’ भनेको देवता र ‘सेबुङ’ भनेको छानेको ठाउँ अर्थात् देवता (ईश्वर)ले छानेको ठाउँ भएको विश्वाससहित दुई दशकअघि नै ‘लारुम्बा’बाट ‘माङ्सेबुङ’मा नाम परिवर्तन गरिएको स्थानीयहरु बताउँछन् । सोही समयदेखि किरात धर्म मान्नेहरुका लागि माङसेबुङ क्षेत्र धार्मिकस्थलको रुपमा स्थापित भएको ५ नम्बर वडाका वडाध्यक्ष नरेन्द्रकुमार राईले बताए ।
लिम्बू समुदायको बसोवास रहेको सो गाउँ किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मनन्द सेइङको कर्मथलोको रुपमा परिचित छ । ‘हरेक वर्ष मंसिर १८ गते धर्मगुरुको जन्म दिनलाई यहाँ धार्मिक उत्सवको रुपमा मनाइन्छ । यो वर्ष पनि भव्य रुपले उत्सव मनाइएको छ,’ वडाध्यक्ष राईले भने ।
करिब २० वर्षदेखि धार्मिक स्थलको रुपमा विकास भएको माङसेबुङमा अहिले करिब १० हजार जनसंख्या रहेको छ । विशेष गरी गुरुको जन्मोत्सव र मंसिरे पूर्णिमा तथा बैशाखे पूर्णिमालाई विशेष पर्वका रुपमा मनाउने गरिन्छ ।
प्रकाशित समय १२:०८ बजे

















