गृहपृष्ठ प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति
प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति
यहाँको गह्रौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिएको छ । वालिङ नगर कार्यपालिकाको यही मंसिर २४ गते बसेको बोर्ड बैठकले वालिङ-९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्यय्याको अस्पताल बनाउने निर्णय गरेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
‘गह्रौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र’ को स्तरोन्नतिसँगै ‘गह्रौँ प्राथमिक अस्पताल’ नामकरण गरिएको नगरप्रमुख खाँणले बताए । ‘प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएसँगै यहाँबाट प्रदान गरिने सेवा पनि विस्तार भएको छ भने आवश्यक दक्ष जनशक्तिको पनि व्यवस्थापन भएको छ,’ नगरप्रमुख खाँणले भने, ‘अब भौतिक पूर्वाधार तथा औजारको व्यवस्थापन गरेर शल्यक्रिया सेवा यहीँबाट सुरु गर्छौं, अब बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेर जानेछ ।’
अस्पतालमा एमडिजिपी चिकित्सकमार्फत नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न विभाग गठन गरी गुणस्तरीय सेवा प्रदान गर्ने, रिफरल सेन्टरको विकास गर्नेलगायतका काम गर्ने तयारी भइरहेको नगरप्रमुख खाँणले बताए । प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहे पनि यो स्वास्थ्य केन्द्रले विगत लामो समयदेखि अस्पतालबाट प्रदान गरिने सेवा दिँदै आएको थियो ।
सञ्चालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिसँगै हाल १५ श्यय्याको अस्पताललाई अहिलेकै ठाउँमा सञ्चालन गर्ने र अस्पताल निर्माणका लागि खरिद गरिएको २७ रोपनी क्षेत्रफलमा ५० श्यय्याको अस्पताल निर्माण गर्ने तयारी भइरहेको छ । ‘वालिङमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्यका क्षेत्रमा नगरवासीको पहुँच विस्तार गर्न वालिङ-१ मा ५० श्यय्याको ‘वालिङ नगर अस्पताल’ को भवन निर्माणका लागि संघीय स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेका छौँ,’ नगरप्रमुख खाँणले भने, ‘अस्पताल सञ्चालन गर्न गण्डकी प्रदेश सरकारसँग ‘ओ एन्ड एम’ गरेर दरबन्दी सिर्जना गर्ने निर्णय नगर कार्यपालिका बैठकबाट भएको छ ।’
स्वास्थ्य केन्द्र भए पनि यहाँ अस्पतालबाट प्रदान गरिने सेवा दिँदै आएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए । स्याङ्जा जिल्लाको झन्डै आधा भेग, दक्षिण पर्वतका केही भेग, गुल्मीका केही भेग तथा पाल्पाको केही भेगका बासिन्दाले यहाँबाट सेवा लिँदै आएका छन् ।
जिल्लाकै हकमा सबैभन्दा धेरै बिरामीको चाप हुने स्वास्थ्य केन्द्रका रूपमा रहेको यस स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी थप गुणस्तरीय सेवा प्रदान गर्ने नगर कार्यपालिकाको निर्णयसँगै यहाँका स्थानीयवासी हर्षित भएका छन् । दक्ष र अनुभवी चिकित्सकद्वारा आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा लिन पाउने भएपछि समय र खर्चको बचत हुनाका साथै स्वास्थ्य उपचारको अभावकै कारण अकालमै ज्यान गुमाउने पीडादायी अवस्थाको पनि अन्त्य हुने स्थानीयवासीको विश्वास छ । स्वास्थ्य केन्द्र सञ्चालनको अवस्थासम्म १४ दरबन्दी र बाँकी ३० स्वास्थ्य केन्द्र तथा वालिङ नगरपालिकाले आर्थिक दायित्व बहन गर्ने गरी व्यवस्थित गर्दै आएको स्वास्थ्य शाखाप्रमुख पाण्डेले बताए ।
‘अस्पतालका रूपमा स्तरोन्नति भएपछि सामान्य शल्यक्रिया सेवा, जटिल प्रकारका प्रसूति सेवा, हर्निया, हाइड्रोसिल, एपेन्डिक्सजस्ता रोगको शल्यक्रिया सेवा दिन सकिन्छ,’ स्वास्थ्य शाखाप्रमुख पाण्डेले भने, ‘आवश्यकतानुसार तालिम प्रदान गर्ने तथा दक्ष जनशक्तिद्वारा गुणस्तरीय सेवाका साथै यसअघि प्रदान भइरहेका सेवालाई थप व्यवस्थित गर्दै अस्पतालको सबै सेवाको स्तरलाई पनि बढाउँदै जानेछौँ ।’
अस्पतालका रूपमा स्तरोन्नति नहुँदै पनि यहाँबाट ओपिडी सेवा, इमर्जेन्सी सेवा, प्रसूति सेवा, ल्याब सेवा, दन्त सेवा, एचआइभी उपचार तथा एआरटी सेवा, आँखा उपचार सेवा, क्षयरोग विशेष जाँच सेवा (जिन एक्सपर्ट), सामान्य शल्यक्रिया, प्याथोलोजी, रगत, खकार, वीर्य जाँच, चौबिसै घण्टा भिडियो एक्स-रे, एक्स-रे सेवा, फार्मेसी सेवा, निःशुल्क सुरक्षित गर्भपतन सेवा, स्वास्थ्य बिमा सेवा, शवपरीक्षण, एम्बुलेन्स सेवालगायत रहेका छन् । (रासस)
प्रकाशित समय १२:०९ बजे
















