गृहपृष्ठ राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक
राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक
राष्ट्रियसभा सदस्य पदका लागि माघ ९ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले बुधबार कार्यतालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशित हुने तय भएको छ । सोही दिन मतदाता नामावलीउपर दावी-विरोधको उजुरी दिने समय कार्यतालिकामा तोकिएको छ ।
पुस १८ गते उजुरीउपर छानविन गरी अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गरिसक्नुपर्ने छ । सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र २२ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले कार्यतालिका बनाएको छ ।
त्यसपछि, २३ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ । २४ गते उम्मेदवारले नाम फिर्ता लिनसक्ने समय तोकिएको छ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । माघ ९ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदानको कार्यतालिका छ ।
संविधानको धारा ८६ को उपधारा ४ बमोजिम आगामी फागुन २० गते राष्ट्रिय सभामा एकतिहाई सदस्यको पदावधि समाप्त हुँदैछ ।

प्रकाशित समय १४:३३ बजे

















