गृहपृष्ठ पोखरा महोत्सवको सुरक्षा व्यवस्थाबारे छलफल

पोखरा महोत्सवको सुरक्षा व्यवस्थाबारे छलफल

दशौँ पोखरा महोत्सवलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय र आयोजक युनाइटेड क्लबबीच छलफल भएको छ । सो क्रममा महोत्सव अवधिभर शान्ति सुरक्षा कायम गर्न

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले महोत्सवलाई सुरक्षित रुपमा सम्पन्न गर्नका लागि सबै सुरक्षा निकायसँग समन्वय हुने बताए । उनले संघसंस्थाहरुले आर्थिक उपार्जन गर्न महोत्सव आयोजना गरिरहेको बताउँदै सामाजिक काममा अगाडि रहेको युनाइटेड क्लबलाई कम्पनी रजिष्टर्डको कार्यालयमा दर्ता गरेर मात्र अर्को महोत्सव आयोजना गर्न सुझाव दिए ।

जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले महोत्सवमा सुरक्षा प्रदान गर्नका लागि आयोजक र अन्य सुरक्षा निकायसँग समन्वय गरेर काम गर्ने बताए । महोत्सवमा विशेषगरी साँझको समयमा भीडभाड हुने भएकाले त्यसलाई ध्यान दिएर सुरक्षा व्यवस्था मिलाउने र कानुनद्वारा निषेधित र समाजमा पाच्य नहुने काम गरे कानुनअनुसार कारबाही गर्ने बताए ।

सशस्त्र प्रहरीको कालिका गण मालेपाटनका गणपति एसपी प्रेमध्वज शाहले विगतमा जस्तै यो पटक पनि सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायसँग सहकार्य गरी महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका प्रमुख अनुसन्धान निर्देशक भुमिराज पाठकले महोत्सवको सफलताको कामना गर्दै आफ्नो युनिटले अन्य सुरक्षा निकायसँग सहकार्य गरी शान्ति सुरक्षामा सहयोग पुर्याउने बताए ।

वडा प्रहरी कार्यालय राम बजारका प्रमुख इन्स्पेक्टर प्रकाश थापाले महोत्सव स्थल आफ्नो वडाको मातहतमा पर्ने भएकाले आयोजकसँग सहकार्य गरी सुरक्षामा कुनै कसर बाँकी नरहने गरी काम गर्ने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की औधोगिक क्षेत्र बिटका प्रमुख सई जीतजंग कार्कीले सहज रुपमा सवारी आवागमन हुने गरी ट्राफिक व्यवस्थापन गरिने बताए ।

महोत्सव सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक तथा क्लबका सचिव सूर्यबहादुर बानियाले महोत्सव स्थलको बारेमा जानकारी दिँदै महोत्सव स्थलमा सीसी क्यामेरा जडान गरिने, पार्किङको व्यवस्थापन गरिने जानकारी गराए ।

त्यस्तै जेट सेक्युरिटी कम्पनीका सञ्चालक कृष्ण सुवेदीले महोत्सव अवधिभर १५ जना निजी सेक्युरिटी गार्डहरु परिचालन गर्ने र उनीहरुले प्रवेशद्वार, बाहिरी गेट र विशेषगरी रातको समयमा स्टलको सुरक्षा प्रदान गर्ने बताए । त्यस्तै स्वयंसेवक परिचालन उपसमितिका संयोजक विष्णुकुमार गुरुङले महोत्सव अवधिभर ५० जना स्वयंसेवक परिचालन गर्ने र उनीहरुले पनि आयोजक र सुरक्षा निकायसँग समन्वय गरी काम गर्ने बताए ।

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु