गृहपृष्ठ तेस्रो जितसँगै एनआरटी लिगको छैटौं स्थानमा

तेस्रो जितसँगै एनआरटी लिगको छैटौं स्थानमा

न्युरोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई १-० गाेलले पराजित गरेकाे छ । दर्शन गुरुङले ७६औं मिनेटमा गरेकाे एक मात्र गाेलमा एनआरटीले लिगको पूर्व विजेता नेपाल पुलिस क्लबलाई स्तब्ध बनायो ।

दशरथ रंगशालामा सोमबार भएकाे खेलमा राजेश परियारले मैदानको बीच भागबाट दिएको पासलाई दर्शनले पेनाल्टी एरियाभित्रबाट प्रहार गर्दै बललाई जाली चुमाए । सुरुआतदेखि नै दुवै टोलीले पाएका मौका सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

छैटौं खेलमा आइपुग्दा पुलिसको यो दोस्रो हार हो । यसअघि टोली रुस्लान थ्री स्टार क्लबसँग पराजित भएको थियो ।

राष्ट्रिय टिमका पूर्वकप्तान राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको एनआरटीको ६ खेलमा  यो तेस्रो जित हो । २ खेलमा हार र १ मा बराबरी खेल्दै एनआरटीले १० अंक जोडे पनि गत सिजनको लिगमा पुछारमा रहेका कारण टोलीको यो सिजनमा २ अंक घटाइएको छ । आजको जितपछि एनआरटी छैटौं स्थानमा उक्लेको छ भने पुलिस छैटौंबाट सातौं स्थानमा झरेको छ ।

प्रकाशित समय १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु