गृहपृष्ठ पत्रकार महासंघले भन्यो- सूचना प्रविधि विधेयक नसच्याए खारेज गर्नुपर्छ
पत्रकार महासंघले भन्यो- सूचना प्रविधि विधेयक नसच्याए खारेज गर्नुपर्छ
नेपाल पत्रकार महासंघले सूचना प्रविधि विधेयक नसच्याए खारेज गर्नुपर्ने बताएको छ । सोमबार क्रान्तिकारी पत्रकार संगठन नेपालले आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचना प्रविधि विधेयक नियन्त्रणका लागि नभई नियमनका लागि हुनुपर्ने बताए । ‘तर अहिलेको विधेयकले पूर्णरुपमा नियन्त्रण गर्न खोजेको छ,’ उनले भने, ‘यसलाई कि खारेज गर्नुपर्छ कि संशोधन ।’
विधेयकका विषयमा आफूहरुको पनि सहमति नरहेको र सरकारसँग छलफल गरिसकेको उनले जानकारी गराए । महासंघ पत्रकारको हकहितका लागि सधैं अग्रमोर्चामा रहेको भन्दै विधेयकका बुँदा सच्याउन सरकारलाई दबाब दिइरहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
कार्यक्रमका सहभागीले सूचनाको हक, वाक स्वतन्त्रता र मानव अधिकारको हनन हुनेगरी सरकारले सूचना प्रविधि विधेयक ल्याउन लागेको भन्दै विरोध जनाए । विधेयक प्रेसलाई मात्र नभएर सम्पूर्ण नागरिक स्वतन्त्रतामाथि नै अंकुश लगाउने अभिप्रायले अघि बढाइएको उनीहरुको आरोप छ ।
संगठनका अध्यक्ष इन्द्र रावतले नेपाल पत्रकार महासंघ विधेयकप्रति किन मौन रहेको भन्दै प्रश्न गरे । पत्रकारहरुको हकहितका लागि बोलिदिने संस्था नै चुप रहेको, आफ्नो भूमिका ननिभाएको र सत्ताको छायाँमा परेको उनले बताए ।
सरकारले संसदमा टेबुल गरेको सूचना प्रविधि विधेयकको सर्वत्र विरोध भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघि बढाएको विधेयकमाथि संसदको विकास तथा प्रविधि समितिअन्तर्गतको उपसमितिबाट बहुमतले पारित गरेपछि विरोध चर्किएको हो । कार्यक्रममा प्रेस युनियन, बार एसोसिएसन, प्रेस सेन्टर, मधेसी पत्रकार समाजलगायतले विधेयकको विरोध गरे ।
प्रकाशित समय १७:११ बजे

















