गृहपृष्ठ भारतीय विमानस्थल हुँदै तेस्रो मुलुक जान रोक
भारतीय विमानस्थल हुँदै तेस्रो मुलुक जान रोक
नयाँ दिल्लीस्थति नेपाली दूतावास ।
स्थलमार्ग हुँदै भारत प्रवेश गरी तेस्रो मुलुक उडान गर्न नेपाली दूतावासले रोक लगाएको छ । भारतीय भूमि भएर तेस्रो मुलुक जाने क्रममा आइपर्न सक्ने समस्याबाट बच्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै प्रयोग गर्न नयाँदिल्लीस्थित दूतावासले अनुरोध गरेको छ।
मध्यपूर्वका साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स लगायत नौवटा देशहरुमा भारतीय विमानस्थल प्रयोग गरी उड्नका लागि नेपाल सरकारले रोक लगाएको छ । वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिको स्टिकर लगाएर आएका नेपालीलाई दूतावासले ‘नो अव्जेक्सन सर्टिफिकेट’ दिएपछि भने उड्न पाउने गरेका छन् ।
बाँकी देशहरुको हकमा राहदानीमा भारतीय अध्यागमनबाट भारत प्रवेश गरेको छाप लगाउनु अनिवार्य गरिएको दूतावासले जनाएको छ ।
‘भारतसँगको खुला सिमाको दुरुपयोग गर्दै मानव तस्करीसमेत हुने गरेको भएकाले नेपाली नागरिकको प्रस्थान अनुमति सम्बन्धमा नेपालको अध्यागमन विभागले स्थलमार्गबाट भारत जानेको राहदानीमा प्रस्थान छाप नलगाउने व्यवस्था कार्यान्वय गरेको छ,’ दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘त्यसरी नेपाली अध्ययागमन कार्यालयले प्रस्थान छाप नलागएपछि सीमा पारी भारतीय अध्ययागमनले समेत आगमन छाप लगाउँदैन । आगमन छाप नभएका राहदानी वाहकलाई भारतीय विमानस्थलबाट उडान अनुमति दिइने गरिएको छैन ।’
भारत हुँदै तेस्रो देशमा मानव तस्करी बढेको समाचारहरु सार्वजनिक भइरहँदा सरकारले कडाइ गरेको छ । खुला सिमा नाका कारण कतिपय नेपालीले भारतीय विमानस्थलको प्रयोग गरी तेस्रो मुलुक उड्नका लागि पुग्ने गरेका छन् ।
दूतावासद्वारा जारी सूचना :

प्रकाशित समय १६:२२ बजे

















