गृहपृष्ठ सेयर बजार सधैं माथि

सेयर बजार सधैं माथि

एक जिज्ञासुको प्रश्न थियो‑ सेयर बजार बढे त सबैलाई फाइदा हुन्छ नि ! लगानीकर्ता, ब्रोकर, धितोपत्र बोर्ड, सरकार सबैलाई । सबैलाई फाइदा हुनुपर्ने कुरा बढिरहनुपर्ने होइन र ! अनि बजार किन घट्छ ?

यो प्रश्न आम जनमानसको प्रतिनिधि प्रश्न नै थियो । मैले उनलाई भनेँ‑ बजार के गरिरहेको छ भन्ने कुरा तपाईं हाम्रो हेराइमा भर पर्छ । बजार भनेको नेप्से हो । कसैले बजार के भो भन्दा त्यही नेप्से परिसूचकलाई आधार मानेर घट्यो वा बढ्यो भनिरहेको हुन्छ । बजारको यही चाललाई मानिसहरुले जस्तो परिस्थितिमा देखे पनि म भने बजार घटेको देख्दिन । सधैं बढिरहेको देख्छु । बजार घटेको हुँदैन । बजार सधैं बढिरहेकै हुन्छ ।

उनले भने‑ कसरी ? हिजो बजार घट्यो त !

अल्पकालमा सेयर बजार कता जान्छ भन्न सक्ने अवस्था कति पनि हुँदैन । एउटा सेयर कारोबारीले पाँच मिनेटपछि कस्तो व्यवहार देखाउँछ भन्ने ऊ आफैंले आफ्नै व्यवहारको अनुमान लगाउन सक्दैन भने समग्र लगानीकर्ताको व्यवहारलाई प्रदर्शित गर्ने बजारको अल्पकालीन (जस्तैः आज, एक दिन वा हप्ता वा महिना) समयको सही अनुमान लगाउन असम्भव प्रायः नै हुने गर्छ । तर, दीर्घकालमा बजार कता जान्छ भनेर भन्न सकिन्छ ।

बजारले यात्रा गर्ने दुइवटा दिशा‑ उत्तर (माथि) र दक्षिण (तल) मध्ये बजारको दीर्घकालीन दिशा भनेको उत्तरतर्फ नै हो ।

नेप्सेका हरेक दिनका अंकलाई हेर्‍यौं भने अवश्य पनि हामी अल्मलिन सक्छौं । एक दिन वा हप्ता वा महिना वा तीन महिनाको बजारको ट्रेन्ड हेर्‍यौं भने बजार कता गइरहेको छ भनेर निर्दिष्ट दिशा पत्ता लगाउन गाह्रो हुनसक्छ । यो स्वाभाविक हो । बजार यता गइरहेको छ भन्न सकिँदैन तर अलिक लामो समय जस्तैः केही वर्ष वा दशक वा त्योभन्दा पनि लामो समयलाई रेखाचित्रमा हेर्‍यौं भने यसको दिशा स्पष्ट देख्नेछौं र त्यो निरन्तर माथि गइरहेको हुनेछ । यसको अर्थ नेप्सेको रेखाचित्र मात्र होइन कि लगानीकर्ताको कुल सम्पत्ति (कुल बजार पुँजीकरण) पनि निरन्तर बढी नै रहेको पाइनेछ ।

एक दिन वा हप्ता वा महिना वा तीन महिनाको बजारको ट्रेन्ड हेर्‍यौं भने बजार कता गइरहेको छ भनेर निर्दिष्ट दिशा पत्ता लगाउन गाह्रो हुनसक्छ । यो स्वाभाविक हो ।

२०५० सालयताको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकलाई छोटो‑छोटो समयमा विभाजन गरेर हेर्‍यौं भने हरेक दिनजसो तलमाथि गरेको पाउन सक्छौं । बारम्बार उतारचढाव आएको पनि देख्न सक्छौं । तर, यसको दीर्घकालीन ट्रेन्डको मूल्यांकन गर्‍यौं भने नेप्से माथिमात्र गएको पाउनेछौं । २०५० सालमा १०० अंकबाट सुरु भएको नेप्से परिसूचक २०७६ सालसम्म आइपुग्दा १३४४ अंकमा छ । यसको अर्थ बजार तल गएको छैन । बजार निरन्तर माथि गइरहेको छ । यो अवधिमा नेप्से परिसूचक वार्षिक १०.५१ प्रतिशतका दरले चक्रवृत्ति रुपमा बढेको छ । समग्र बजारको नाफा १०.५१ प्रतिशतले बढेको छ ।

नेप्सेको यो यात्रामा कतिले बजारबाट पैसा बनाए होलान् । कतिले गुमाए होलान् । कतिले निरन्तर बनाइरहेका होलान् । कति बजारमा अडिइरहनसके होलान् । कति बजारबाट निस्किए होलान् । कति पुनः बजारमा फर्किए पनि होलान् । कतिले कहिल्यै नफर्कने कसम पनि खाएको हुनसक्छ । कतिले जीवनभर नसकिने गरी पैसा बनाए होलान् । कतिले जीवनभर कमाएको पैसा सके होलान् ।

तर, जसले राम्रा कम्पनी छनौट गरेर सेयर किनेर राखे र धैर्य गर्नसके उनीहरु बजारबाट भाग्नु परेन । उसको सम्पत्ति नेप्सेको वार्षिक वृद्धि १०.५१ प्रतिशतभन्दा बढीको दरले निरन्तर बढेको छ ।

२०५० देखि २०७६ सालसम्मको २६ वर्षको अवधिमा नेप्सेको रेखाभित्र जे‑जस्तो गतिविधि (उतारचढाव) आए पनि समग्रमा नेप्सेको यात्रा उकालो जानमै केन्द्रित छ । नेप्सेमात्र नभई विश्वका सेयर बजारलाई हेर्‍यौं भने तल गएको इतिहास छैन । सधैं माथि गएको नै पाउँछौं । जस्तैः भारतको सेन्सेक्स, अमेरिकाको डाउजोन, बेलायतको एफटिएसइलगायतका इतिहास केलायौं भने पनि दीर्घकालमा यी माथि नै गएका छन्, तल गएका छैनन् । यसैले सेयर बजारमा ठोकुवा गरेर भन्न सकिने कुरा के छ भने अल्पकालमा यसले जे‑जस्तो व्यवहार देखाए पनि दीर्घकालमा यो माथि नै जान्छ । अल्पकालमा लगानीकर्ताका नाफा‑नोक्सानका अंकमा उतारचढाव आए पनि दीर्घकालमा बजारले समग्रमा नाफा नै थपिरहेको हुन्छ । एउटा दुर्भाग्य, हामी अझै पनि यो निरन्तर माथि जाने नेप्से किन्न पाउँदैनौं, बेच्न पाउँदैनौं । नेप्से र धितोपत्र बोर्डको व्यवस्थापनको कुवा प्रवृत्तिका कारण नेप्से इन्डेक्समा आधारित लगानी विकल्पहरुको विकास हुन सकेन न त यो इन्डेक्लाई प्रदर्शित गर्ने कुनै म्युचुअल फन्डको विकास मर्चेन्ट बैंकहरुले नै गर्न सके ।

नेप्सेको २६ वर्षको अवधिमा नेप्से माथि गए पनि कम्पनीको सेयर मूल्य त माथि गएको छैन नि ! भन्ने प्रश्न पनि जीवित हुनसक्छ । उदाहरणका लागि कतिपय ठूला भनिएका नबिल, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड जस्ता बैंकको सेयर मूल्य विगतमा भन्दा तल‑तल सर्दै गइरहेको पाउँछौं त ! मूल्य तल झरेको देखिए पनि दीर्घकालीन लगानीकर्ताको कुल सम्पत्ति भने तल गएको छैन माथि नैगएको छ । बिसौं वर्षअघि १० हजार रुपैयाँ लगानी गर्नेको अहिले कुल सम्पत्तिको हिसाब गर्‍यौं भने करोडौंको सम्पत्ति बनेको पाउन सकिन्छ । यसैले सेयर मूल्यको अंकलाई भन्दा पनि यसले निश्चित समयमा सिर्जना गरेको कुल मूल्य (पुँजीकरण) लाई हेर्न सक्नुपर्छ । सेयर बजार सधैं बढेको हेर्न चाहनेमा बजारको छोटो होइन, लामो रेखाचित्र हेर्ने धैर्य हुनुपर्छ । कहिल्यै दक्षिण फर्कन नजान्ने नेप्सेको निरन्तरको उत्तरतर्फको दीर्घकालीन यात्राबाट फाइदा लुट्ने हो भने नेप्सेको लामो इतिहासलाई हेरेर लगानी योजना बुन्न सक्नुपर्छ । अनि मात्र नेप्सेको ‘ट्रेन्ड’ वास्तविक ‘फ्रेन्ड’ हुनसक्छ । तर, दिनदिनै हुने तल‑माथिबाट फाइदा लिने हिसाबले कारोबार गरिएमा भने लगानी यात्रामा ट्रेन्डले तपाईं हामीलाई अवश्य पनि चाँडै अनफ्रेन्ड गर्नेछ । यति मात्र नभई बजारबाटै अनफ्रेन्ड हुनुपर्ने हुन्छ ।

(त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर गरेका सेयर विश्लेषक भट्टराईले क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् भने सेयरबजारबारे क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)

यो पनि पढ्नुहोस्

स्मार्ट सेयर लगानीकर्ता

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु