गृहपृष्ठ पशुपतिनाथ मन्दिरमा डेढ सय किलो सुनको जलहरी बनाइँदै
पशुपतिनाथ मन्दिरमा डेढ सय किलो सुनको जलहरी बनाइँदै
महाशिवरात्रिको पूर्वसन्ध्यामा शोभायात्रा
पशुपति क्षेत्र विकास कोषले श्री पशुपतिनाथ मन्दिरमा १४१ किलोको सुनको जलहारी निर्माण गर्ने भएको छ । हालसम्म पशुपतिनाथको शिवलिंगमा रहेको पिठिकामा चाँदीको आवरणयुक्त जलहरी रहेको सुनको जलहरी निर्माण गर्ने निर्णय कोषले गरेको हो ।
जलहरीमा २४ क्यारेट सुनको प्रयोग गरिने कोषले जनाएको छ । यसका लागि कोषले श्रद्धालु भक्तजनसँग सहयोगका लागि आह्वान गरेको छ । दाताले न्यूनतम एक तोलादेखि अधिकतम एक किलोसम्म सुन सहयोग गर्न सक्नेछन् । सुन दिने दाताको नाम दाताको स्वेच्छामा कोषले स्मारिकामा प्रकाशित गर्ने जनाएको छ ।
दाताले नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एभरेस्ट बैंक र कृषि विकास बैंकमा सुनका लागि नगद जम्मा गर्न सक्ने कोषका कोषाध्यक्ष एवं जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले जानकारी दिए । उनका अनुसार सुनको जलहरीका लागि गोप्य दान गर्न चाहने भक्तजनले पशुपतिनाथ मन्दिरको प्रांगणमा रहेको एउटा र पश्चिम गेटबाहिर रहेको अर्को दानपात्रमा दान दिन सक्ने पनि उनले बताए ।
महाशिवरात्रिको पूर्वसन्ध्यामा शोभायात्रा
महाशिवरात्रिको पूर्वसन्ध्यामा मंगलबार पशुपति क्षेत्रमा शोभायात्रा गरिएको छ । नेपाल भ्रमण वर्षसँग जोडेर महाशिवरात्रिलाई भव्य रूपमा मनाउने योजनाअनुसार शोभा यात्रा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको हो । मंगलबार बिहान पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट सुरु भएको शोभायात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै हंसमण्डपसम्म पुगेको थियो ।
यात्रामा साधुसन्त, महन्त, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्यान्ड टोलीको पनि सहभागिता रहेको कोषले जनाएको छ । शोभायात्रामा कोषका पदाधिकारी र कर्मचारी, नेपाल वेद विद्याश्रमका शिक्षक, विद्यार्थी र महाशिवरात्रि मूल समारोह समारोह समितिको पनि सहभागिता थियो ।
प्रकाशित समय १२:५२ बजे

















