गृहपृष्ठ पुटिनद्वारा आफ्ना एक प्रमुख रणनीतिकार बर्खास्त
पुटिनद्वारा आफ्ना एक प्रमुख रणनीतिकार बर्खास्त
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अतिनिकटवर्ती मध्येका एक सल्लाहकार भ्लादिस्लाफ सुर्कोफलाई पदबाट बर्खास्त गरेका छन् ।
राष्ट्रपतिमाथि उनको प्रभावलाई लिएर गुप्त रणनीतिकार सुर्कोफलाई रुसमा पर्दा पछाडिको शक्तिका रूपमा हेरिन्थ्यो । पुटिनको शक्ति मजबुत पार्न सघाउने एक सहयोगीका रूपमा पनि सुर्कोफलाई हेरिन्थ्यो ।
सुर्कोफले युक्रेन बारेको रुसी नीतिलाई पनि हेरेका थिए, तर पछि त्यससम्बन्धी केही जिम्मेवारीबाट उनलाई मुक्त गरिएको थियो ।
पुटिनका अनुभवी तथा निकटवर्ती सहयोगी दिमित्री कोजाकलाई यसै महिनाको शुरूतिर युक्रेनी मामिला हेर्ने जिम्मेवारी दिइएको थियो ।
रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले सुर्कोफलाई नयाँ जिम्मेवारी दिइने वा नदिइनेबारे स्पष्ट पारेको छैन ।
क्रेम्लिनको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा पनि सुर्कोफलाई बर्खास्त गर्नुको कुनै सङ्केत गरिएको छैन ।
सुर्कोफबारे हामीले सुन्ने यो अन्तिम कुरा नहोला -गेब्रिएल गेटहाउस, अन्तर्राष्ट्रिय सम्पादक, बीबीसी न्यूजनाइट
व्यापक शक्ति भएको बेला एउटा समय थियो जब पर्दा पछाडि रहने भ्लादिस्लाफ सुर्कोफको भूमिकाविना रुसको राजनीतिमा केही हुँदैनथ्यो ।
डुमामा राजनीतिक दलहरू तथा सडकमा पुटिन समर्थक युवा समूहहरूमाथि उनको नियन्त्रण हुन्थ्यो ।
क्रेम्लिनका नीतिहरूप्रति विरोध जनाउने कलाकारहरूलाई उनले सहयोग गरे । राजनीतिक विपक्षीहरूमाथि पनि उनले नियन्त्रण राखेको कतिपयको आशंका छ ।
सन् २०११/१२ मा पुटिन शासनको विरोधमा भएका प्रदर्शनका क्रममा पहिलो पटक उनले समर्थन गुमाए ।
सडकहरूमा भएका प्रदर्शनमाथि नियन्त्रण कायम गर्न नसकेकोमा धेरैले त्यसलाई उनको असफलताको रूपमा अर्थ्याए । त्यसभन्दा अझ नराम्रो भन्नुपर्दा त्यसलाई घातको रूपमा हेरियो ।
पछि पूर्वी युक्रेनमा रुसी आक्रमणलाई सफलतापूर्व अघि बढाएपछि उनी पुनः उदाए । तर अब उनको त्यो शक्ति पनि गयो । तर सुर्कोफलाई पदबाट बर्खास्त गरिएको यो पहिलो घटना चाहिँ होइन । यो अन्तिम नहुन पनि सक्छ ।
को हुन् सुर्कोफ ?
क्रेम्लिन प्रशासनका प्रथम उपप्रमुखका रूपमा सुर्कोफले संसद्मा राजनीतिक दलहरूलाई र चुनावी अभियानहरूलाई हेरे जसले पुटिनलाई जित दिलायो ।
तर सन् २०११ मा उपप्रधानमन्त्री बनाइएपछि उनको प्रभाव कम हुन थाल्यो । सन् २०१३ मा उनलाई रुसको युक्रेन सँगको सम्बन्ध तथा सोभियत संघबाट छुट्टिएका देशहरू सँगको सम्बन्ध हेर्ने जिम्मेवारी दिइयो ।
सन् २०१४ मा मस्कोले युक्रेनको दक्षिणी क्राइमिआ प्रायःद्वीपलाई रुसमा गाभ्यो र पूर्वी युक्रेनमा रुसीभाषी पृथकतावादीहरूलाई समर्थन गर्यो । (बीबीसीबाट)
प्रकाशित समय ०९:११ बजे

















