गृहपृष्ठ गोरखनाथ मठको जग्गा अतिक्रमण

गोरखनाथ मठको जग्गा अतिक्रमण

काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँमा मृगस्थली गोरखनाथ मठ गुठीबाट तैनाथी जोगीकुटी भनेर चिनिने जग्गा अतिक्रमण भएको छ ।

वरिपरिबाट मिचेर बाँकी रहेको दुई रोपनी पाँच आना जग्गामा पछिल्लो समय पाँच आना जोगीकुटीको उत्तरतर्फको जग्गा स्थानीय सुनिल कार्कीले अतिक्रमण गरी घर बनाउन थालेको मठले जनाएको छ ।

राजा रणबहादुर शाहको समयमा नाथ सम्प्रदायका योगीलाई बस्नका लागि जोगीकुटी नामको मठ पञ्चेधाराको उत्तरतर्फ स्थापना भएको थियो ।

शैवमार्गी नाथ सम्प्रदायका योगीलाई ध्यान, साधना गर्ने स्थलका रुपमा स्थापित गर्न गोरखनाथको मूर्तिसमेत राखिएको थियो । यहाँ पहिलोपटक नाथ सम्प्रदायका विशाखानाथले साधना गरेको थियो । जसलाई नाथ सम्प्रदायले पवित्र तीर्थस्थलका रुपमा मान्ने गरेका छन् ।

महानगरपालिका–५ हाँडीगाउँ सिट नं १०२६ को २४ को कित्ता नं ३६९ मा पछिल्लो समय दुई रोपनी पाँच आना अर्थात् ११७३.४३ वर्ग मिटर जग्गा कायम रहेको थियो । यही जग्गा पनि मिचिन थालेपछि जोगीकुटी भनेर चिनिने यस क्षेत्रको इतिहास मेटिन सक्ने खतरा देखिएको मठका महन्त योगी विश्वनाथले राससलाई जानकारी दिए ।

‘आनाकै एक करोड रुपैयाँभन्दा बढी पर्ने जग्गा पहुँचकै आधारमा मिचिन थालेको छ, जग्गा मिच्नेलाई पटकपटक मठमा बोलाएर जग्गा नमिच्न अनुरोध गरिए पनि वास्ता नै नगरी घर बनाउन थालेका छन्, अब हामी अदालत जाने तयारी गरिरहेका छौँ,’ उनले भने ।

विसं २०६७ सम्म मठको पूर्वतिरको सडक सानो थियो । २०६८ सालमा पर्खाल लगाएर सडक ठूलो बनाउँदासमेत मठको जग्गालाई एकतर्र्फी पेलिएको छ । मठको पाँच आना जग्गा मिच्ने कार्कीको घरको उत्तरतिर सडक भए पनि बाटोका लागि भन्दै मठ अतिक्रमण गरेको स्थानीयवासीले बताए ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको योगीकुटीको जग्गा अतिक्रमण हुँदा महानगरपालिका–५ ले रोक्न पहल नगरेको महन्त विश्वनाथले बताए । वडाध्यक्ष रमेश डंगोल आफूले जग्गा मिचिएको स्थलको स्थलगत अनुगमन गरी कानूनी सल्लाहको प्रक्रियामा रहेको बताउँछन् ।

‘कार्कीले गुठी संस्थानसँग किनेको भनी भर्पाई देखाए, संस्थानसँग किनेको भने पनि स्थलगतरुपमा कित्ताकाट नगरिएकाले कानूनीरुपमा जग्गा उनको हुन सक्दैन, त्यो जग्गा मठकै हो, कानूनी सल्लाहपछि यस विषयमा हामी अघि बढ्छौँ,’ उनले भने ।

यही स्थलको रेखदेखका लागि भनी विसं २०६७ मा स्थापना भएको गोरखनाथ मठ तथा पञ्चेधारा संरक्षण समिति नेपालले समेत यस विषयमा नबोल्दा उदेक लागेको महन्त विश्वनाथले सुनाए । समितिका अध्यक्ष महेन्द्र रेग्मी पनि त्यो जग्गा गुठीकै भएको बताउँछन् ।

मठको पाँच आना जग्गा मिचेर घर निर्माण शुरु गरेको आरोप लागेका कार्की भने आफूले घर बनाउन लागेको नभई फलामको खम्बा राखेर तार जालीले घेर्न लागेको बताउँछन् । ‘विसं २०३० मा मेरी आमा उमादेवी कार्कीले योगी नरहरिनाथसँग पाँच आना जग्गा किनेको हो, यो कागजात मैले गुठी संस्थान शाखा कार्यालय काठमाडौँ शाखा र वडा कार्यालयमा पनि पेश गरेको छु,’ उनले भने ।

रणबहादुर शाहको पालामा बनेको कुटी कमाण्डर इन चिफधीरशम्शेरका पालामा जीर्णोद्धार गरिएको मठमा रहेको शिलापत्रमा उल्लेख गरिएको ‘हाँडीगाउँ : एक परिक्रमा’ पुस्तकमा लेखक डा यज्ञनाथ आचार्यले उल्लेख गरेको छ । कुटीको अचल सम्पत्तिका रुपमा वरिपरि धेरै जग्गा भए पनि मिचिएर सीमित हुन पुगेको प्रसंग पनि उनले पुस्तकमा लेखेका छन् ।

नाथ सम्प्रदायका योगी नरहरिनाथ विसं २०१५ र २०१६ मा यही कुटीमा बसेका थिए । यहाँपछि उहाँ पशुपतिस्थित मृगस्थलीको गोरखनाथ मठमा गएर बसेका हुन् । यसै कारण हाल पनि मृगस्थलीस्थित गोरखनाथ मठ र यहाँको कुटीबीच राम्रो सम्बन्ध छ । कुटीको रेखदेख एवं योगीको व्यवस्था मृगस्थलीस्थित गोरखनाथ मठबाट नै हुँदै आएको छ । (रासस)

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु