गृहपृष्ठ अफगानिस्तामा राजनीतिक संकट : राष्ट्रपतिमा दुई जनाको सपथ

अफगानिस्तामा राजनीतिक संकट : राष्ट्रपतिमा दुई जनाको सपथ

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाह गरी दुवै जनाले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन् । सोमबार दिउँसो घानीले सपथग्रहण गरेको घोषणा गरेकै बेलामा अब्दुलाहले पनि सपथग्रहण गरेको दाबी गरेका हुन् ।

घानीले राष्ट्रपति कार्यालयमै विशेष समारोहको आयोजना गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हालेको घोषणा गरेका थिए । समारोहमा अमेरिकी विशेष प्रतिनिधि जाल्माय खालिल्जाद, अमेरिकी कार्यवाहक राजदूत रोस विल्सन, अमेरिकी, नाटो फौजका कमान्डर जनरल स्कट मिलरसँगै युरोपेली संघ, क्यानडा अस्ट्रेलिया, डेनमार्क, जर्मनी र नर्वेका राजदूतहरु उपस्थित थिए ।

अर्कोतर्फ प्रमुख कार्यकारी अब्दुलाहले पनि राष्ट्रपतीय निर्वाचनमा आफू विजयी भएको दाबी गर्दै राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन् ।

घानीले गत फेब्रुअरीमै आफू दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका थिए । गत सेप्टेम्बरमा निर्वाचन भए पनि परिणाम घोषणा हुन नसकेपछि उनले पाँच महिनापछि विजयी भएको घोषणा गरेका हुन् । गत डिसेम्बरमा घोषणा भएको प्रारम्भिक नतिजाअनुसार घानी झिनो मतअन्तरले अगाडि रहेका थिए ।

दुवै नेताको आ-आफ्नै दाबीका कारण अफगानिस्तानको राजनीति थप संकटमा पर्ने देखिएको छ । सपथग्रहण कार्यक्रम चलिरहेकै बेला राजधानी काबुलमा बम विस्फोटनका घटना पनि भएका छन् ।

लामो समयदेखि गृहयुद्धमा फसेको अफगानिस्तानमा केही दिनअगाडि तालिवान लडाकु र अमेरिकाबीच आंशिक शान्ति सम्झौता भएको थियो । तर पनि हिंसात्मक घटना नरोकिँदा अफगानिस्तानकोे राजनीतिले सकारात्मक मोड लिन सकेको छैन । अमेरिकासँगको सम्झौता अनुसार अबको चरणमा तालीवान समूह र अफगान सरकारबीच शान्तिवार्ता गर्ने सहमति भएको थियो ।

वार्ता सुरू गर्न अफगान तालिवान समूहले कैदीबन्दीको आदान प्रदान गर्नुपर्ने माग राखेको छ । यसमा सरकारले पाँच हजार तालिवान लडाकुलाई रिहा गर्ने र वदलामा तालिवान समूहले एक हजार अफगानी सैन्य अधिकारीलाई रिहा गर्ने शर्त रहेको छ । राष्ट्रपति घानीले शर्तसहितको वार्ता र तालिवानको कैदी आदान-प्रदानको मुद्दालाई अस्वीकार गरेका छन् । (रासस)

प्रकाशित समय १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु