गृहपृष्ठ जानकी मन्दिरमा महन्थको ‘एकलौटी राज’
जानकी मन्दिरमा महन्थको ‘एकलौटी राज’
विश्व सम्पदा सूचीमा सूचीकृत हुन नदिन चलखेल, आफूखुसी गर्भगृहका चाँदी फेरबदल
करोडौं हिन्दूहरुको आस्था र विश्वासको धरोहर जानकी मन्दिरमा महन्थ रामतपेश्वर दास वैष्णवले ‘एकलौटी राज’ गरिरहेका छन् । महन्थ दासले एक्लौटी रुपमा जानकी मन्दिरको गर्भगृहको चाँदी फेरेका छन् । महोत्तरीको महदैयाका बस्ने सीताराम साहले जानकी मन्दिरको गर्भगृहका लागि २९ किलो चाँदी दान दिएपछि महन्थ दासले आफूखुसी चाँदी फेरेका छन् ।
ऐतिहासिक तथा धार्मिक प्राचीन धरोहरको कुनै पनि समान फेरबदल गर्नुपर्दा गुठी संस्थान र पुरातत्व विभागका साथै स्थानीय प्रशासनबाट लिखित अनुमति लिनुपर्ने कानुनी प्रावधान छ । महन्थ रामतपेश्वर दास वैष्णवले भने आफैंले जानकी मन्दिरको प्राचीन गर्भगृहको चाँदी फेरेको बताए । महन्थ दासले ५० देखि ६० वर्ष पहिले आफ्नो दादाजी महन्थ हुँदा गर्भगृहमा लगाइएको चाँदी आफूले फेरेकाले यो पुरातत्व विभागमा नजाने तर्क गरेका छन् ।
मन्दिरका महन्थ दासले आफूले गर्भगृहको चाँदी फेर्दा गुठी संस्थान जनकपुर, स्थानीय प्रशासनलगायत पुरातत्व विभागको अनुमति लिएको र ती सरोकारवालाको उपस्थितिमा निकालिएको चाँदी तौल गरिएको दाबी गरे । तर, गुठी संस्थान जनकपुरका प्रमुख वैकुण्ठ रेग्मीले जानकी मन्दिरको गर्भगृहको चाँदी फेरिएको विषयमा कुनै जानकारी नभएको बताएका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले पनि धनुषामा सिडिओ भएर आएको १५ महिनाको अवधिमा जानकी मन्दिरको गर्भगृहको चाँदी फेर्ने विषयमा कुनै लिखित र मौखिक जानकारी नभएको बताए ।
महन्थ दासले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा पर्न नदिन षड्यन्त्र गरिरहेको भ्रष्टाचारविरुद्धका अभियन्ता जनक रायको आरोप छ । उनले भने, ‘करोडौं श्रद्धालु भक्तजनको आस्थाको केन्द्र जानकी मन्दिरमा कुनै पनि व्यक्तिले आफूखुसी समान फेरबदल गर्नु राम्रो होइन । सम्बन्धित सरोकारवाला निकायले यसबारे अध्ययन र अनुगमन गर्न जरुरी छ ।’
सन् १९९१ मा भारत टिकमगढकी महारानीले पुनर्निर्माण गर्न लगाएको जानकी मन्दिर ४ हजार ४६० वर्गफिटमा फैलिएको छ । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास भइरहँदा सम्बन्धित सरोकारवाला निकायलाई कुनै जानकारी नदिई गर्भगृहको चाँदी फेरिनुले ठूलो शंका जन्माएको स्थानीय बताउँछन् ।
प्रकाशित समय १०:४१ बजे

















