गृहपृष्ठ प्रधानमन्त्रीले भन्नुभाथ्यो ‘अब कायापलट हुन्छ’ तर हाम्रो उठिबास हुँदैछ
प्रधानमन्त्रीले भन्नुभाथ्यो ‘अब कायापलट हुन्छ’ तर हाम्रो उठिबास हुँदैछ
घरनजिकै सडक पुग्दा हरेकलाई सहज हुन्छ, आफ्नो क्षेत्रको विकास हुने अपेक्षा हुन्छ । तर, त्यही सडकले घरबारविहीन बनाउने अवस्था आए के होला ? यस्तै समस्या भोगिरहेकी छन्, कैलालीको चुरे गाउँपालिका ३ बस्ने इन्द्रा रिजाल ।
गत वर्ष फागुन ७ गते उद्घाटन भएको सहजपुर‑बोगटान सडकखण्डमा इन्द्राको घर छ । ‘निर्माणाधीन सडकमै घरको केही भाग परेको छ । त्यसमाथि अहिले सडकबाट १५ मिटर पुनः छोड्नुपर्छ,’ उनले भनिन्, ‘जग्गाको नाममा यही घडेरी हो । यो पनि सडकले भत्काउनु भनेको छ ।’ उनले सडक आयोजना कार्यालयले विकल्प नदिएसम्म आफूले सडकको ट्रयाक काट्न नदिने बताइन् ।
उनको प्रश्न छ– विकास हुनु राम्रो हो तर उठिबास नै गराउने विकासको के काम ? उनको केही जग्गा चमेलिया विद्युत प्रसारण लाइनले उपयोग गरेको छ । ‘चमेलिया विद्युत आयोजनाले जग्गाको मुआब्जा दिन्छु भन्यो तर अहिलेसम्म पाइएन,‘ उनले दुखेसो गरिन्, ‘अब हामीलाई घरबारविहीन गराउने गरी यो सडक काटिँदै छ । हाम्रो व्यवस्थापनबारे कसैले पनि सोचेको छैन ।‘
इन्द्राजस्तै लक्ष्मीदेवी अम्बाईको पनि घरको आँगन सडकमा परेको छ । उनले भनिन्, आँगनसम्म सडक काटिन्छ । १५ मिटर छोड्नुपरे घरको भाग जान्छ । तर मुआब्जाबारे केही कुरा नै गरिएको छैन ।‘ उनले सडकको ट्रयाक खोल्दा खेतीयोग्य १० रोपनी जमिन गुमाउनुपरेको बताइन् । ५० किलोमिटर लामो सो सडकमा व्यक्तिका घरमात्र नभएर खेतीयोग्य जमिन, घाँसेबारी र आली पनि परेका छन् ।
चुरे गाउँपालिका ३ का अध्यक्ष टेकबहादुर शाहले सडकका कारण सो वडाका १० परिवार घरबारविहीन हुनुपर्ने अवस्था आएको बताए । उनका अनुसार सडकका कारण ३५ परिवारले खेतीयोग्य जमिन गुमाउँदै छन् ।
उनले वर्षायाममा पहिरोले गर्दा दुई परिवारलाई स्थानान्तरण गरिएको बताए । उनले भने, सडकका कारण कतिपय परिवार विस्थापितमात्र भएका छैनन्, खेतीयोग्य जमिन पनि गुमाउनुपरिरहेको छ ।‘ घर वा जग्गाको मुआब्जाका लागि पहल गरे पनि सुनुवाइ नभएको उनले बताए । स्थानीयका अनुसार सडकका कारण सयौं घर जोखिममा छन् । सो सडक चौडा गर्दा पहिरोको जोखिम पनि बढेको स्थानीयको गुनासो छ ।
सहजपुर–बोगटान सडक आयोजनाका इन्जिनियर पुष्पराज भट्टले सडकभित्र पर्ने घरपरिवार तथा खेतीयोग्य जमिनको क्षतिबारे लागत संकलन भइरहेको बताए । उनले भने, ‘अहिले कति घर र खेतीयोग्य जमिन सडकभित्र पर्छ भन्ने यकिन भइसकेको छैन ।‘ सडक चौडा गर्ने र वाल निर्माण गर्ने कार्य भइरहेको उनले बताए ।
सुस्त गतिमा काम
३१ वर्षअघि यो सडकको ट्रयाक शिलान्यास भयो, कसैले कालोपत्रे गरेनन् । अहिले ३१ वर्षपछि सडक कालोपत्रे भइरहेको छ । ‘अबको ३० महिनामा यो क्षेत्रको कायापलट हुनेछ,’ २०७५ साल फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सहजपुर–बोगटान सडकको दुई लेन (डबल कटिङ) कालोपत्रेको शिलन्यास कार्यक्रममा भनेका थिए ।
सो सडक निर्माणका लागि ठेक्का सम्झौता भएको १५ महिना भइसकेको छ तर निर्माण प्रगति भने निराशाजनक छ । सहजपुर–बोगटान सडक आयोजना कार्यालयका अनुसार १५ महिनामा आयोजनाको भौतिक प्रगति २० प्रतिशतमात्र छ ।
सडक निर्माणका क्रममा विभिन्न समस्या सिर्जना भइरहेका छन् । सडक छेउमा घर, जग्गा तथा रुख कटानलगायतका समस्याका कारण कामले गति लिन सकेको छैन । आयोजनाका इन्जिनियर भट्ट भन्छन्, ‘आयोजनाको सबैभन्दा ठूलो समस्या भनेकै रुख कटान हो ।‘
इन्जिनियर भट्टका अनुसार संघीय मन्त्रिपरिषद्ले आदेश दिइसक्दा पनि रुख कटानको काम अघि बढ्न सकेको छैन । उनका अनुसार वन कार्यालयले काठको मूल्यांकन गर्न सकेको छैन । यो सडकखण्डमा कम्तीमा तीन हजार ९०० रुख काट्नुपर्ने अवस्था छ ।
आयोजनाका इन्जिनियर भट्टले वन विभागबाट रुख काटन् पत्र आइसकेको बताए । उनले एक हप्ताभित्र काठको मूल्यांकन गरी कटान कार्य अघि बढ्ने बताए । रुख कटान कार्य अघि बढेपछि मात्र घरजग्गा धनीलाई मुआब्जा दिने काम अघि बढाइने जानकारी गराए ।
सहजपुरदेखि ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएकोमा झन्डै ४० किलोमिटर सडक वन क्षेत्रमा पर्ने भएकाले स्तर वृद्धिको काम समेत प्रभावित भएको निर्माणको जिम्मा पाएको पीआरएल कुमार जेभीका योजना व्यवस्थापक ईश्वर बस्नेतले बताए ।
सो सडकको २०७५ साल मंसिर १९ गते सम्झौता गरिएको थियो । सडकको निर्माण अवधि २०७८ जेठ २३ सम्म छ । दुई अर्ब रुपैयाँ कालोपत्रेको ठेक्का पिआरएल कुमार जेभीले पाएको छ । १५ महिनामा आयोजनाको ३० करोड रुपैयाँ खर्च भइसकेको छ ।
भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट सडक विभागले यो सडक कालोपत्रे गर्न थालेको हो । सहजपुरदेखि बडीकेदार गाउँपालिका हुँदै बोगटान गाउँपालिकाको सिमचौर भएर दिपायल जोड्ने यो सडकको ३४ वर्षअघि २०४२ सालमा पहिलोपटक शिलान्यास भएको थियो ।
प्रकाशित समय ०९:०२ बजे


















