गृहपृष्ठ बलात्कार प्रयास आरोपित सांसद होली मनाउन एसपीको कार्यकक्षमा

बलात्कार प्रयास आरोपित सांसद होली मनाउन एसपीको कार्यकक्षमा

कैलाली प्रहरीले बलात्कारको आरोपमा थुनामा रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचेतक एवं प्रदेशसभा सदस्य अक्कल रावललाई आफ्नै कार्यकक्षमा होली मनाउन दिएको पाइएको छ । नेकपानिकटका महिलाको समूहले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरिकै कार्यकक्षमा पुगेर बलात्कारको आरोपमा थुनामा रहेका प्रदेशसभा सदस्य रावलसँग रंग लगाएर होली खेलेको तस्बिर सामाजिक सञ्जालमा बाहिरिएको हो ।

प्रहरी उपरीक्षक सुदीप गिरिको कार्यकक्षको सोफा र पर्दा देखिने गरी सार्वजनिक भएको तस्बिरमा तत्कालीन अखिल नेपाल महिला संघ कैलालीकी अध्यक्ष गीता सोडारीसहितका तीन महिला र एकजना पुरुष हाँस्दै गरेको तस्बिर सार्वजनिक भएको हो । तत्कालीन माओवादी केन्द्रबाट नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेकी लक्ष्मी शाहसहितका तीनजना महिला र एकजना पुरुषले होली खेलेका हुन् । रावल बलात्कार आरोपमा फागुन २१ गतेदेखि प्रहरी हिरासतमा छन् । नेकपा प्रदेश कमिटी सदस्य शाहले आफ्नो फेसबुक वालमा पोस्ट गरेको तस्बिरमा ‘स्पेसल होली’ स्टाटस लेखेकी छन् ।

धनगढी उपमहानगरपालिका ४ मा डेरा गरी बस्दै आएकी एक महिलाले प्रदेशसभा सदस्य रावलले आफूमाथि कोठामै आएर बलात्कारको प्रयास गरेको भन्दै फागुन १४ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन् । श्रीमान काठमाडौं गएका बेला मामा नाता लगाउँदै रावल माघ २१ गते आफ्नो कोठामा आएर बलात्कार प्रयास गरेको महिलाले उजुरीमा उल्लेख गरेकी छन् । रावललाई फागुन २१ गते कैलाली प्रहरीले पक्राउ गरेको थियो । उनलाई पहिलो पटक चार दिन र त्यसपछि सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विवाहित महिलामाथि बलात्कारको प्रयास गर्ने पीडकलाई हौसला दिने गरी नेकपाकै महिला नेतृहरुले प्रहरी प्रमुखकै कार्यकक्षमा बोलाएर अबिरजात्रा गरेपछि सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ । रावलसँग हाँस्दै फोटो खिचाएकी गीता सोडारीका श्रीमान पनि धनगढीकै एक महिलासँग अनैतिक क्रियाकलाप गरेको भन्दै सामाजिक विकासमन्त्रीको पदबाट निष्कासनमा परेका थिए । तत्कालीन सामाजिक विकासमन्त्री रहेका सोडारीलाई नेकपाले पार्टीबाट समेत निलम्बन गरेको छ ।

कैलालीका प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले भने होलीका दिन हिरासतमा रहेका सबैलाई होली खेल्न दिइएको बताए । उनले कार्यकक्ष नभएर जिल्ला प्रहरी कार्यालयको मिटिङ हलमा होली खेलेको बताए । उनले भने, ‘तर बाहिर आएर होली खेल्ने कुरा थिएन, साथीहरुले के गरेछन् ?’

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु