गृहपृष्ठ दार्चुला सीमामा ३ दिनदेखि सयौं नेपाली अलपत्र, देउवाद्वारा सरकारको ध्यानाकर्षण
दार्चुला सीमामा ३ दिनदेखि सयौं नेपाली अलपत्र, देउवाद्वारा सरकारको ध्यानाकर्षण
हिंडेरै आइपुगेका उनीहरूमध्ये अधिकांश सुदूरपश्चिमका
भारतबाट आएका नेपालीहरू महाकालीमा सुस्ताउँदै, इन्सेटमा, नाराबाजी हुँदै । (फाइल तस्बिर)
कामका लागि सीमापारि भारतीय क्षेत्र पुगेका नेपालीहरू स्वदेश फर्कने क्रममा दार्चुलाको सीमा नाकामा रोकिएका छन् । नेपालमा पनि लकडाउनका कारण सरकारले सीमानाका बन्द गरेपछि तीन सयभन्दा बढी नेपालीहरु तीन दिनदेखि अलपत्र छन् ।
कोरोना भाइरस संक्रमण फैलिएपछि केन्द्र र राज्य सरकारले लकडाउन गरेका कारण भारतभरको यातायात ठप्प छ । सार्वजनिक यातायात, हवाई र रेलमार्ग पनि बन्द छन् । हिंडेरै नाकासम्म आएका उनीहरूमध्ये अधिकांश सुदूरपश्चिमका रहेको बताइएको छ ।
उनीहरुले आफ्नो देश प्रवेश गर्न पाउनु पर्ने भन्दै अहिले भारतीय भूमिबाटै नाराबाजी गरिरहेका छन् । लकडाउन गरे पनि आफूहरूलाई देश फर्कन दिइनुपर्ने उनीहरूकाे माग छ ।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ?’ भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । ‘दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौ नेपालीहरुलाई आवस्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु।’ उनले आफ्नो ट्वीटर ह्याण्डलमा लेखेका छन् ।
आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो? दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौ नेपालीहरुलाई आवस्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु। https://t.co/YmcFVRzSPR
— Sher Bahadur Deuba (@DeubaSherbdr) March 30, 2020
नाका खोल्न अनुमति दिइएन
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले समस्याकाबारे गृह मन्त्रालयमा जानकारी गराइए पनि नाका खोल्न अनुमित नदिएको बताए । ‘हामीले गृहमा जानकारी गराएका हाैं । तर नाका खोल्न अनुमति भएन । लकडाउन अवधिभर जो जहाँ छन्, त्यहीँ रहनुपर्ने भो,’ न्युज कारोबारसँग उनले भने ।
प्रकाशित समय १४:४३ बजे

















