गृहपृष्ठ रुघाखोकी र ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष
रुघाखोकी र ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष
कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिनका लागि प्युठान अस्पतालले रुघाखोकी तथा ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न थप सजगता अपनाउनका लागि अस्पतालले रुघाखोकी तथा ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याएको हो ।
रुघाखोकी र ज्वरोका बिरामीलाई उपचार गर्ने र कोरोना भाइरसबाट संक्रमित देखिएमा उनीहरुलाई उपचारका लागि आइसोलेशन कक्षमा पठाउने उद्देश्यले सो उपचार कक्ष स्थापना गरिएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा अमृत पन्थीले जानकारी दिए। हालसम्म कोरोना भाइरसकाट संक्रमित बिरामी नआएको उनले बताए ।
निमित्त सुपरिटेण्डेन्ट डा।पन्थीले अस्पतालले चार वटा आइसोलेशन वेड बनाएर तयारी अवस्थामा राखिएको उल्लेख गर्दै आवश्यकता परेमा त्यसलाई विस्तार गर्दै लैजाने बताए । मौसमी रुघाखोकीका बिरामीहरुले पनि कोरोना भाइरसको आशंकामा बढी त्रसित हुने गरेको उनले बताए । सो अस्पतालमा छिमेकी जिल्ला रोल्पा, अर्घाखाँचीलगायत बिरामी उपचारका लागि आउने गरेका छन् ।
ज्वरोका बिरामी बढ्दै
ज्वरोका दैनिक १० देखि १५ जना बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । मौसम परिवर्तनसँगै अहिले रुखाखोकी र ज्वरोका बिरामी बढी देखिने गरेको डा.पन्थीले बताए ।
ओपिडी तथा ल्याव सेवा निःशुल्क
लकडाउनको समयमा अस्पतालमा आएका विरामीहरुका लागि ओपडी तथा ल्याव सेवा, औषधी समेत निःशुल्क प्रदान गरिँदै आएको अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा. पन्थीले बताए ।
कोरोना संक्रमणको समयमा सरकारले गरेको लकडाउन सुरु भएदेखि निःशुल्क सेवा प्रदान गर्दै आएको उनको भनाइ छ । साथै जिल्लामा रहेका दर्घिरोगीलाई आवश्यकताका आधारमा घरमै गएर उपचार गरिने डा. पन्थीले बताए ।
प्रकाशित समय १४:४८ बजे

















