गृहपृष्ठ जमुनाह नाकामा १५ जिल्लाका १७२ नेपाली, भन्छन्- सरकारले हाम्रो संकट किन बुझ्दैन ?
जमुनाह नाकामा १५ जिल्लाका १७२ नेपाली, भन्छन्- सरकारले हाम्रो संकट किन बुझ्दैन ?
जमुनाह नाकामा अलपत्र परेका नेपालीलाई चाउचाउ बाँड्दै सशस्त्र प्रहरी ।
‘चार दिनसम्म न राम्रो खानापानी छ नत बसाइ नै । खाना नपाएर भोक-भोकै सडकमा बस्नु परेको छ । के हामी सीमा क्षेत्रमा दुवै देशका प्रहरीको दुर्व्यवहार खेपेर बस्नुपर्ने हो ?’ जमुनाह नाका नेपालगञ्जबाट सिञ्जा गाउँपालिका- ५ जुम्लाका जनक शाहीले दुखेसो पोखे ।
उनका अनुसार भारतका विभिन्न प्रान्तबाट काम गरेर फर्किएका मध्यपश्चिम नेपालका १५ जिल्लाका १७२ नेपाली बाँके जमुनाह नाकामा चार दिनदेखि अलपत्र छन् । अलपत्र नेपालीको भिडियो, फोटो खिच्न धेरै पत्रकार र प्रशासनका मान्छे आए पनि आफूहरुको उद्धार नभएको पीडित शाहीले बताए ।
उनले भने, ‘त्यहाँ न नेपालको प्रहरीले नेपाल पस्न दिन्छ नत भारतीय प्रहरीले फर्कन । न खान पाएका छौ नत पानी पिउन नै । यस्तो हालत सामाजिक सञ्जाल, मिडियामा आएको र प्रहरी प्रशासनले थाहा पाउँदा पनि किन हामीमाथि वेवास्ता ? संकटमा अरु देशले आफ्ना नागरिकहरु उद्धार गरिरहेको बेला हाम्रो संकट किन बुझ्दैन सरकार ?’
उनका अनुसार जमुनाह नाकामा हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, अर्घाखाँचीलगायत १५ जिल्लाका नागरिकहरु फसेका छन् । नेपाल सरकारले चैत्र १८ गतेसम्म घोषणा गरेको लकडाउन खुल्ला र मातृभूमि पुगौंला भनेर राखेको आशा लकडाउन थपिएपछि निराशामा परिणत भएको पीडित शाहीले बताए ।
‘नेपाल प्रहरी भारत फर्क भन्छ, भारतीयले नेपालीलाई पिटेरै लखेट्छ । दैनिक अपमान खेपिरहनु परेको छ,’ हिमा गाउँपालिका- ५, जुम्लाका बलबीर रोकायाले भन] । सरकारले बरु चाँडो नेपालमा लिएर आफूहरुलाई क्वारेन्टाइनमा राखिदिनुपर्ने उनले आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले लकडाउनको समयमा दुवै देशले जहाँबाट नागरिक आएको त्यही देशले व्यवस्था गर्ने नेपाल र भारत सरकारले सहमति गरेको निर्णय अनुसार व्यवस्थापनको काम भइरहेको बताए । ‘सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतले लिएर क्वारेन्टाइनमा राख्न सहमत भएको छ तर उनीहरुले मानेका छैनन् । भारतमा गएर क्वारेन्टाईनमा बस्न हामीले धेरै प्रयास गर्यौँ तर मान्नु भएन । खानपीनको त्यस्तो समस्या छैन,’ उनलेभने ।
समस्या जसरी भए पनि समाधान गरिँने जनाउँदै उनले नेपाल सरकारको निर्णय भएकोले यहाँबाट व्यक्तिले चाहेर केही नहुने बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले अन्तर्राष्ट्रिय सीमा नाका भएकोले यो समस्याको समाधान गर्ने कुरा स्थानीय सरकारको वशमा नरहेको बताए । उनले सीमामा अलपत्र नेपालीलाई स्थानीय सरकारसहित आसपासका गाउँलेले पनि खानपिनमा सहयोग पुर्याएको बताए । (रासस)
प्रकाशित समय १९:२६ बजे

















