गृहपृष्ठ कोरोनाविरूद्ध सरकारले चालेका कदममा साथ दिन राष्ट्रपतिको आह्वान
कोरोनाविरूद्ध सरकारले चालेका कदममा साथ दिन राष्ट्रपतिको आह्वान
संयमताले नै सिंगो समाज र राष्ट्रलाई महामारीबाट जोगाउन सकिने धारणा
राष्ट्रपति विद्यादेवी भण्डारीले काेराेना भाइरसकाे रोकथाम र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन सम्पूर्ण नागरिलाई आह्वान गरेकी छन् । लकडाउनका कारण दैनिक जीवन केही असहज भए पनि संयमित भएर घरभित्रै रहन पनि उनकाे आग्रह छ ।
शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संयमताले नै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक रहेको बताइन् । सरकारले कोरोना रोकथामका लागि लकडाउनको घोषणा गरेको सन्दर्भमा राष्ट्रपतिले यस्तो अनुरोध गरेकी हुन् ।
महामारीको बेला सबैभन्दा जोखिमयुक्त काम गर्ने स्वास्थ्यकर्मी, सम्पूर्ण स्वास्थ्यकर्मीलगायत सम्बद्ध सबै पक्षको धैर्यताप्रति उनले सम्मान व्यक्त गरेकी छन् । ‘कोरोना भाइरसका कारण सिंगो धर्ती नै युद्ध मैदानजस्तै भइरहेकाे छ । तर याे महामारी विरुद्धको लडाइँमा मानव जाति विजयी हुनेमा म विश्वस्त छु,’ उनले भनिन् ।
संसारका विभिन्न मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई यस महामारीका समयमा आ-आफ्नो ठाउँमा आवश्यक सतर्कतासहित सुरक्षित रहन राष्ट्रपति भण्डारीकाे आग्रह छ ।
संसारभर फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहन नसके पनि सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै संक्रमण फैलन नपाएको उनकाे भनाइ थियाे । यस महामारी विरुद्धको लडाइँमा सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई उनले आह्वान गरेकी छन् ।
संसारका विभिन्न मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई यस महामारीका समयमा आ-आफ्नो ठाउँमा आवश्यक सतर्कतासहित सुरक्षित रहन राष्ट्रपति भण्डारीकाे आग्रह छ । विभिन्न देशमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट जाेगाउन सम्बन्धित देशले देखाएको तत्परताप्रति लागि राष्ट्रपति भण्डारीले सबै मित्रराष्ट्रप्रति आभार प्रकट गरिन् ।
लकडाउनका कारणा अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको र दैनिक ज्यालादारीबाट जीविकाेपार्जन गर्ने श्रमजीवी वर्ग सबैभन्दा बढी प्रभावित भएकाे उनले बताइन् । यस्ताे अवस्थामा प्रभावितहरुका लागि सरकारले राहत प्याकेज घोषणासमेत गरिसकेको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।
प्रकाशित समय २०:५५ बजे

















