गृहपृष्ठ कोरोनाबाट १० दिनमै ५१ हजारको मृत्यु, भारतमा १६४ जनाले गुमाए ज्यान

कोरोनाबाट १० दिनमै ५१ हजारको मृत्यु, भारतमा १६४ जनाले गुमाए ज्यान

विश्वभर तीव्र रुपमा फैलिरहेको नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट १० दिनमै ५१ हजार मानिसको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार चैत १६ गते बिहानसम्ममा कोरोनाबाट ३० हजार ८७९ जनाले ज्यान गुमाएकोमा त्यसयताका १० दिनमै मृतक संख्या ५१ हजार २१७ जनाले थपिएर ८२ हजार ९६ जना पुगेको हो । जुन १६५ प्रतिशतको वृद्धिदर हो ।

पुस १५ गते चीनको वुहानमा पहिलोपटक देखिएको कोरोनाभाइरस संक्रमणबाट तीन महिनामा विश्वभरमा करिब ३१ हजार जनाले ज्यान गुमाएका थिए । कोरोना संक्रमण अहिले विश्वका २०९ देशमा फैलिएको छ । १० दिनको अवधिमा संक्रमितको संख्या पनि उच्च दरले बढेको छ ।

चैत १६ गतेसम्म विश्वभर ६ लाख ६३ हजार ७४० संक्रमित पुष्टि भएकोमा चैत २६ गते बिहानसम्ममा संक्रमित संख्या ११५ प्रतिशतले बढेर १४ लाख ३१ हजार ९७३ पुगिसकेको छ । यसबीचमा संक्रमित संख्या ७ लाख ६८ हजार २२३ जनाले बढेको हो ।

यो १० दिनको अवधिमा १ लाख ६० हजार मानिसले नयाँ जीवन पाएको तथ्यांकमा उल्लेख छ । त्यसअघिका तीन महिनामा १ लाख ४२ हजार १८३ जनाको सफल उपचार भइसकेको थियो । यो अवधिमा सफल उपचार वृद्धिदर ११२ प्रतिशतले बढेको छ ।

कोरोनाभाइरस संक्रमणबाट नेपालसँग सीमा जोडिएको छिमेकी देश भारतमा मात्रै १६४ जनाले ज्यान गुमाएका छन् । भारतमा आजमात्रै ४ जनाले ज्यान गुमाए भने ९  जना नयाँ संक्रमित फेला परेका छन् ।

सबैभन्दा बढी प्रभावित ५ देश

कोरोनाबाट विश्वमै सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा बुधबार साँझसम्ममा ४ लाखभन्दा बढी संक्रमित फेला परेका छन् भने १२ हजार ८५७ जनाको ज्यान गइसकेको छ । त्यस्तै ९ हजारभन्दा बढी गम्भीर बिरामी छन् ।

दोस्रोमा १ लाख ४६ हजारभन्दा बढी संक्रमित फेला परेको स्पेनमा १४ हजार ५५५ जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारभन्दा बढी गम्भीर छन् । त्यस्तै इटालीमा १ लाख ३५ हजारभन्दा बढी संक्रमित पुष्टि भइसकेको छ । त्यहाँ १७ हजार १२७ जनाले ज्यान गुमाएका छन् भने तीन हजा ७९२ जना गम्भीर बिरामी रहेको वर्ल्डोमिटरले जनाएको छ ।

चौथो धेरै प्रभावित देशमा फ्रान्स छ । फ्रान्समा १ लाख ९ हजारभन्दा बढी संक्रमित फेला परेकोमा १० हजार ३२८ जनाको मृत्यु भइसकेको छ । त्यहाँ ७ हजार १३१ मानिस गम्भीर बिरामी छन् । त्यस्तै जर्मनीमा १ लाख ७ हजारभन्दा बढी संक्रमित पुष्टि भइसकेको छ । जहाँ २ हजार १६ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ८ सयभन्दा बढी गम्भीर बिरामी छन् ।

प्रकाशित समय १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु