गृहपृष्ठ डोटीमा स्वाब संकलन धमाधम
डोटीमा स्वाब संकलन धमाधम
स्वाब संकलन गरिँदै । (फाइल तस्बिर)
सुदूरपश्चिम प्रदेशको डोटीका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिको थ्रोट स्वाब संकलन गर्ने कार्य बुधबारबाट सुरू भएको छ । जिल्लास्थित क्वारेन्टाइनमा रहेका ३०५ जनाको स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए ।
लकडाउन सुरू भएपछि भारतबाट घर फर्केकाहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । डोटीका ६ स्थानमा गएर स्वाब संकलन कार्य भइरहेको छ । जिल्ला अस्पताल डोटी, प्रदेश प्रहरी अस्पताल तथा अन्य अस्पतालका स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन गरिरहेको हो । किट तथा अन्य स्वास्थ्य सामग्री आज मात्रै काठमाडौंबाट हेलिकोप्टरमार्फत डोटी पुर्याइएको छ ।
बुधबार र बिहीबार दुई दिन स्वाब संकलन गरी काठमाडौं पठाइने स्वास्थ्य कार्यालयका डोटीका प्रमुख रमेश मलासीले बताए । दिपायल सिलगढी नगरपालिकाको राजपुरमा ४८ जना, शिखर नगरपालिकाको धुर्काटमा ४६ जना, शिखर नगरपालिकाकै बानेडुग्रीसैनमा ३० जनाको स्वाब संकलन हुने बताइएको छ ।

त्यसैगरी आदर्श गाउँपालिकाको मौवादहमा ७३, बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीमा ६७ र बडिकेदार गाउँपालिकाको बीपीनगरमा ४१ जनाको पनि स्वाब संकलन हुनेछ । क्वारेन्टाइनमा बस्नेको संख्या चार सय २८ रहे पनि अहिले ३०५ जनाको मात्र स्वाब परीक्षण हुने भएको हो । किट केही बढी नै भएका कारण स्वाब संकलन हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।
प्रकाशित समय १८:४८ बजे
















