गृहपृष्ठ स्वास्थ्यमन्त्री र प्रदेश समन्वयकर्ता मन्त्रीबीच छलफल

स्वास्थ्यमन्त्री र प्रदेश समन्वयकर्ता मन्त्रीबीच छलफल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकिएका विभिन्न संघीय मन्त्रीले आज छलफल गरेका छन् ।

प्रदेश नम्बर १ सरकारसँगको समन्वयकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङ, गण्डकी प्रदेशको सरकारसँगको समन्वयकर्ता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र सुदूरपश्चिम प्रदेश सरकारसँको समन्वयकर्ता खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आज स्वास्थ्य मन्त्रालयमा मन्त्री ढकालसँग छलफल गरे।

छलफलमा मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी गराउँदै प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने तयारी गरेको बताए ।

हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको संख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन थप गरी क्षमता विस्तार हुँदैछ । मन्त्रिपरिषद्को बैठकबाट समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरूले स्वास्थ्य सामग्री र अन्य तयारीको बारेमा प्रदेशगत रूपमा आफ्नो विचार राखेका थिए ।

प्रकाशित समय २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु