गृहपृष्ठ नेपाल–भारत सीमा पूर्ण रुपमा ठप्प पार्दै सरकार

नेपाल–भारत सीमा पूर्ण रुपमा ठप्प पार्दै सरकार

Border Security_NewsKarobar

छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको संक्रमण व्यापक रूपमा फैलिँदै गएसँगै नेपालमा त्यसको संक्रमण फैलनबाट रोक्नका लागि सरकारले नेपाल–भारत सीमामा आवतजावत पूरै रोक लगाउने निर्णय गरेको छ ।

अहिलेसम्म नेपाल–भारत सीमाका मूल नाकाहरूमा मात्र सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोस्ट’ (बीओपी) रहेकोमा छोटी भन्सार नाकासहित सीमा क्षेत्रका सम्भाव्य सबै आवतजावतको बाटो रोक्ने गरी सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ । नेपाल–भारत सीमा सुरक्षामा सशस्त्र प्रहरी बल परिचालित गरिँदै आइएको छ ।

‘केही दिनअघिसम्म नेपाल–भारत सीमाका १२० बीओपीमा रहेको जनशक्तिले सीमा क्षेत्र हेर्दै आएकोमा अहिले त्यो ९२५ वटा पुर्‍याइएको छ,’ सशस्त्र प्रहरी बलका प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठले भने– ‘आवश्यकताअनुसार यसलाई अझ बढाउने तयारीमा छौं ।’

उनका अनुसार मुख्य बीओपी र नजिकका अन्य ब्यारेकहरूबाट समेत परिचालित जनशक्ति थपेर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका ससानो टुकडी परिचालित गरी सीमामा आवतजावत रोक्ने काम भइरहेको छ ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश सरकारले लखनउ, गौतमबुद्धनगर, महाराजगन्जसहित १५ जिल्लालाई कोरोना भाइरसको ‘हटस्पट’ भन्दै पूर्ण रुपमा ठप्प (सिल) गर्ने निर्णय गरिसकेको छ । उत्तरप्रदेशमा हालसम्म ३६४ जनामा कोरोनाभाइरसको संक्रमण भएकोमा ४ को मृत्यु भइसकेको छ ।

यस्तै, अर्को सीमा जोडिएको राज्य बिहारमा ३८ जनामा संक्रमण भएकोमा १ को मृत्यु भएको छ भने उत्तराखण्डमा ३३ जनामा यसको संक्रमण देखापरिसकेको छ ।

हालैमात्र भारतबाट आएका एक जना र तिनको परिवारका सदस्य एक जनालाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएपछि सरकारले सीमा क्षेत्रको आवतजावत पूरै रोक्ने निर्णय गरेको हो ।

‘अब सीमा क्षेत्रको हरेक २–२ किलोमिटरको दूरीमा रहेको सशस्त्र प्रहरीको पोस्टले सीमाक्षेत्रको पूरै निगरानी गर्नेछ र सम्भावित आवतजावतमा रोक लगाउनेछ,’ प्रवक्ता श्रेष्ठले भने ।

मूल नाकाबाट यसअघि नै रोक लगाइ सकिएको भए पनि सीमा क्षेत्रनजिक बसोबास गर्नेहरू र भारतमा रोजगारीका लागि गएकाहरूले छोटी भन्सार नाका र यसअघि तस्करहरूले प्रयोग गर्दै आएका चोरबाटोबाट आवत–जावत गर्दै आएका छन् ।

‘हामीले विभिन्न सञ्चार माध्यमहरूबाट र आफ्नै सूचना संयन्त्र (इन्टेलिजेन्स)बाट यसरी भइरहेका आवतजावतको सूचना संकलन गरेर पूरै रोक लगाउन जनशक्ति परिचालन गरिसकेका छौं,’ डीआईजी श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार हाल सीमा क्षेत्रका सुरक्षाका लागि करिब साढे पाँच हजार जनशक्ति परिचालन गरिएको छ, जसमध्ये करिब २३०० भर्खरैमात्र थप गरिएको हो ।

सीमा सुरक्षा र दैनिक सुरक्षामा खटिने सुरक्षाकर्मीहरूको स्वास्थ्य सुरक्षालाई पनि विशेष ध्यान दिएर मास्क, स्यानिटाइजरसहितको व्यवस्था गरिएको उनले बताए ।

‘मुख्य सीमा नाकामा यसअघि नै नेपाल सरकारको व्यवस्थापनअनुसार स्वास्थ्य परीक्षणको व्यवस्था छँदैछ, सीमामा तैनाथ भारतीय समकक्षी (एसएसबी)हरूसँगको समन्वयबाट स्वास्थ्य सूचना आदान–प्रदान गरि थप सावधानी अपनाइ रहेका छौं,’ डीआईजी श्रेष्ठले भने, ‘सीमा र देशको सुरक्षाका चौबीसे घण्टा तैनाथ रहने हाम्रा कर्मचारी बलको स्वास्थ्य सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हो ।

उपलब्ध भएसम्म स्रोत परिचालन गरेर उनीहरूको स्वास्थ्य हेरचाहको समेत व्यवस्था गरिएको छ ।’
श्रेष्ठका अनुसार अहिले नेपाल सरकारबाहेक प्रदेश सरकारहरूबाट प्राप्त स्रोतसमेत परिचालन गरेर सुरक्षाकर्मीहरूका लागि आवश्यक स्वास्थ्य हेरचाहको प्रबन्ध गरिएको छ ।

सरकारले स्वास्थ्य र सुरक्षा क्षेत्रलाई अत्यावश्यक सूचीमा राखी यी क्षेत्रमा तत्काल बजेट उपलब्ध गराउने तथा नपुग भएमा कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट परिचालन गर्न सकिने निर्णय गरिसकेको छ ।

सीमा सुरक्षाका अलावा कुल ३५ हजार सशस्त्र प्रहरी बलको जनशक्तिमध्ये अहिले साढे २९ हजार ‘फ्रन्टलाइन सुरक्षा’मा खटिएको श्रेष्ठले बताए ।

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु