गृहपृष्ठ दैनिक डेढ सयलाई खाना खुवाउँदै मानव सेवा आश्रम
दैनिक डेढ सयलाई खाना खुवाउँदै मानव सेवा आश्रम
नेपाललाई ‘मानवीयताको राष्ट्र’ बनाउने सपना बोकेको मानव सेवा आश्रमले लकडाउनका कारण रोजीरोटी गुमाएका डेढ सय जनालाई दैनिक खाना खुवाउने गरेको छ । आश्रमले कौशलटारदेखि भक्तपुर दरबार क्षेत्रसम्म पुगेर डेढ सय जनालाई बिहान र बेलुका खाना खुवाउने गरेको हो ।
नेपाल स्वयंसेवक संघका अध्यक्ष सन्तोष निरौला (तारा)को संयोजनमा आश्रमले चैत २५ देखि लकडाउनका कारण बिजोगमा परेकाहरूलाई खाना खुवाउन थालेको थियो । कौशलटार, ठिमी हुँदै भक्तपुर दरबार क्षेत्रसम्म भेटिनेलाई खाना खुवाइँदै आएको अध्यक्ष निरौलाले जानकारी दिए ।
लकडाउनका कारण आम्दानी गुमाएकाहरू आश्रमले ल्याउने खाना खान बिहान ९ बजे र बेलुका ५ बजे सडकआसपास आइपुग्छन् । आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार खानाका लागि दानवीरहरुले सहयोग गर्ने गरेका छन् । डेढ सय जनाको खाना तयार गर्ने नौ हजारदेखि १० हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको छ ।
खाना पकाउन, ल्याउन र खुवाउन मानव सेवा आश्रमका अभियन्ता र नेपाल स्वयंसेवक संघका सदस्यहरू समय मिलाएर जुट्ने गरेका छन् । कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उनीहरूले पिपिई लगाउने गरेका छन् भने खाना खान आउनेहरुलाई स्यानिटाइजरले हात धोइदिने गरेका छन् ।
प्रकाशित समय २०:३० बजे


















