गृहपृष्ठ दक्षिण कोरियामा संसदीय निर्वाचन : डेमोक्र्याटिक पार्टी विजयी

दक्षिण कोरियामा संसदीय निर्वाचन : डेमोक्र्याटिक पार्टी विजयी

दक्षिण कोरियामा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मुन जे-इनको पार्टीले विजयी भएको छ ।कोरोना भाइरस महामारी सुरु भए यता आवधिक निर्वाचन सम्पन्न गर्ने दक्षिण कोरिया पहिलोमध्ये एक राष्ट्र हो ।

बुधवार देशभरि मतदान भएको थियो । त्यसका लागि सामाजिक दूरी कायम राख्दै सुरक्षाका विभिन्न उपाय अवलम्बन गरिएको थियो ।

कसले कति स्थान जिते ?

अधिकांश मतगणना सम्पन्न हुँदा ३०० सीट भएको त्यहाँको संसद्‌मा राष्ट्रपति मुनको डेमोक्र्याटिक पार्टीले १६३ सीट जितेको छ । उक्त दलसँग सहकार्य गरेको प्लेटफर्म पार्टीले १७ स्थानमा जित्ने प्रक्षेपण गरिएको छ। त्यसो हुँदा राष्ट्रपतिको दललाई सरकार निर्माणका लागि कुल १८० सीट पुग्ने देखिन्छ ।

सरकार निर्माणका लागि राष्ट्रपति मुनको दलले स्पष्ट बहुमत पाएको छ । निर्वाचनमा ३५ वटा दल सहभागी थिए । तर मुख्य प्रतिस्पर्धा भने वामपन्थी झुकाव भएको डेमोक्र्याटिक पार्टी र रूढीवादी विचाधाराको विपक्षी दल यूनाइटेड फ्यूचर पार्टीबीच थियो ।

यूनाइटेड फ्यूचर पार्टी र उसका संसदीय साझेदारहरूले १०३ सीट जित्ने अपेक्षा गरिएको छ । यूनाइटेड फ्यूचर पार्टीबाट विजयी हुनेमा उत्तर कोरियाबाट भागेर आएका प्योङ्याङका पूर्वकूटनीतिज्ञ थाइ योङ-हो पनि छन् । उत्तर कोरियाबाट पलायन हुनुअघि उनी लन्डनमा उत्तर कोरियाली दूतावासमा वरिष्ठ कूटनीतिज्ञ थिए ।

निर्वाचन परिणाममा कोरोना भाइरसको प्रभाव कति ?

दक्षिण कोरिायमा केही समय कोरोना भाइरस संक्रमण अत्यासलाग्दो गरी फैलिएको थियो । चीनपछि त्यहाँ कोभिड-१९ भएका मानिसको संख्या सर्वाधिक थियो । तर व्यापक परीक्षण, संक्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य मानिसको पहिचान र व्यक्तगत दूरी जस्ता उपाय अवलम्बन गरेर सरकारले महामारीलाई नियन्त्रणमा ल्यायो ।

राष्ट्रपति मुनको दलको विजयलाई कोरोनाभाइरस महामारीसँग जुझ्न सरकारले गरेको कामको अनुमोदनका रूपमा हेरिएको छ । सरकारले महामारी नियन्त्रण गर्न अवलम्बन गरेको नीतिको दक्षिण कोरियामा निकै प्रशंसा भएको थियो । यस जितसँगै राष्ट्रपतिको सरकारलाई सन् १९८७ मा पहिलो प्रजातान्त्रिक निर्वाचन भए यता संसद्‌मा विशाल बहुमत प्राप्त हुनेछ ।

सोह्र वर्षमा वामपन्थी झुकाव भएका पार्टीहरूले बहुमत ल्याएको समेत पहिलो पटक हो । दक्षिण कोरियामा सन् १९५२ देखि सबै निर्वाचन निर्धारित समयमा हुँदै आएको छ । सन् १९५२ कोरियाली युद्ध चलिरहँदा पनि राष्ट्रपतीय निर्वाचन भएको थियो । (बीबीसीबाट)

प्रकाशित समय १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु