गृहपृष्ठ ‘किसानसँग खेतबारीको विकल्प छैन’
‘किसानसँग खेतबारीको विकल्प छैन’
खेती लगाउने र पाकिसकेको बाली थन्क्याउने काम समयमै नगरी हुन्न । त्यसैले खेती लगाउने र बाली थन्क्याउने समयमा किसानले केहीसँग सम्झौता गर्दैनन् । कोरोना संक्रमणका कारण देशभर लकडाउन घोषणा गरिएको छ । तर पनि किसानहरु भने खेतबारीमै व्यस्त छन् ।
ललितपुर, सुनाकोठीका स्थानीय किसानहरुलाई मकै लगाउन यतिबेला भ्याइनभ्याई छ । स्थानीय धनमाया महर्जनको दैनिकी पनि योभन्दा भिन्न छैन । उनी केही दिनदेखि मकै रोप्न दिनहुँ खेत धाइरहेकी छन् । भन्छिन्, ‘मकै लगाउने समय चैतको अन्तिमतिर हो । वैशाख लागिसक्यो । अब पनि ढिलो गरे मकै रोप्नु र नरोप्नुको अर्थ हुँदैन ।’
दम्पत्ति नै खेतमा भेटिएका उनीहरुले कोरोनाको डर मनमा भए पनि खेतीकिसानी गरिखाने भएकाले आफूहरुका लागि खेतबारी नै प्यारो भएको बताए । ‘समयअनुसार काम नगरे खान पाइँदैन । त्यसैले काम नगरी सुखै छैन,’ दुवैले एकै स्वरमा भने ।

लकडाउनले गर्दा अहिले किसानहरुले ढुक्क भएर खेतबारीमा काम गर्न भने पाइरहेका छैनन् । तर अहिले बाली नलगाए ‘पछि के खाने ?’ भन्ने चिन्ताले पनि उनीहरु घरबाहिर निस्कन बाध्य छन् । खेतमा मकै रोप्ने समय बित्न लाग्दा पनि लकडाउन खुल्नेभन्दा थपिँदै गएकाले डर र त्रासलाई वेवास्ता गरेर काममा निस्कनुको विकल्प नभएको किसानहरु बताउँछन् ।
वर्षा याम सुरु हुन लागेकाले यतिबेला हिमाली र पहाडी जिल्लाहरुमा धान र कोदोको ब्याँड राख्ने समय भएको छ । कतै भने मकै छर्नै बाँकी छ । तराईका किसानहरु गहुँ थन्क्याउन धमाधम छन् । देशैभर कोरोना संक्रमणको सन्त्रास फैलिए पनि किसानहरुले भने डर लुकाउन पाएका छैनन् ।

कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट बच्न र नियन्त्रणको लागि सरकारले चैत्र ११ गतेबाट लागू गरेको लकडाउनको अवधि पटक-पटक थप गरेर वैशाख १५ गते सम्म पुर्याएको छ । खेतीपातीको नियमित काममा लागेका किसानहरुका लागि लकडाउन खासै समस्या त पारेको छैन । सरकारले पनि सामाजिक दुरी कायम गरेर कृषिका कामहरु गर्न सकिने बताएको छ । तर मदखाँद र बीउविजन नपाउँदा भने किसानहरु चिन्तित छन् ।

प्रकाशित समय २१:१६ बजे

















