गृहपृष्ठ जापानमा लगाइएको संकटकाल देशव्यापी विस्तार
जापानमा लगाइएको संकटकाल देशव्यापी विस्तार
जापानका प्रधानमन्त्री सिन्जो आवेले संकटकाललाई देशव्यापी विस्तार गरेको छ ।
शुक्रबारदेखि लागू हुने घोषणा गरिएको संकटकाल आगामी मे ६ तारिखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिए । सिमाना पार गरेर एक ठाउँबाट अर्को ठाउँतर्फ जाने कार्यलाई नियन्त्रणका लागि देशव्यापी संकटकाल घोषणा गरेको उनको भनाई छ ।
कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले संकटकालको आवश्यकता भएको प्रधानमन्त्रीले बताएका छन् । प्रधानमन्त्री आवेले यसअघि यही अप्रिल ७ मा केन्द्रीय राजधानी टोकियो र अन्य छ क्षेत्रमा मात्रै संकटकालको घोषणा गरेको थियो । यी क्षेत्रहरुमा कोरोना भाइरसको उच्च जोखिम भएकाले संकटकाल लागू गरिएको थियो ।
प्रधानमन्त्री आवेले पहिलो चरणमा घर बाहिर भिडभाड नगर्न र घर भित्रै बस्न आम नागरिकलाई आह्वान गरेका थिए । तर त्यो आह्वान सन्तोषजनक रुपमा पालना नभएपछि उनले संकटकालको घोषणा गरेका हुन् ।
उनले हरेक जापानी नागरिकलाई एक लाख जापानी येन नगद उपलब्ध गराउने घोषणा पनि गरेका छन् । जापानमा कोरोना भाइरसका कारण बिहीबारसम्म नौ हजारभन्दा बढी संक्रमित भएका छन् भने १५० भन्दा बढीको मृत्यु भएको छ । (एजेन्सी)
प्रकाशित समय ०७:२४ बजे

















