गृहपृष्ठ महिनौंको छटपटीपछि देशको माटो टेक्न पाउँदा हर्षविभोर

महिनौंको छटपटीपछि देशको माटो टेक्न पाउँदा हर्षविभोर

'उताको सबै दुख बिर्सिएँ, मन साह्रै ढुक्क भयो'

एक महिनासम्म भारतीय क्वारेन्टिनमा बसेर स्वदेश फर्किएका नेपालीहरुले ढिलै भए पनि सीमा नाका खोलेर सरकारले नेपाल ल्याएकोमा खुसी व्यक्त गरेका छन् । आफ्नो देश फर्कन पाउँदा असाध्यै खुसी लागेको उनीहरुले बताए ।

भारतको पिथौरागढमा मजदुरी गर्न गएका बैतडीको पुरचौडी नगरपालिका- ८ का देवदत्त जोशीले पट्यारलाग्दो बसाईंपछि स्वदेश फर्कन पाउँदा आफू हर्षविभोर भएको बताए । ‘एक महिनाभन्दा बढीको पर्खाइपछि आफ्नो देशको माटो टेक्दा उताको सबै दुख बिर्सिएँ । मन साह्रै ढुक्क भयो,’ उनले खुसी व्यक्त गरे ।

पुरचौडी नगरपालिका- ३ का जोगे पार्कीले पनि नेपाल प्रवेश गर्न पाएपछि भारतीय क्वारेन्टिनमा बस्दाको दुख र छटपटी बिर्सेको बताए । ‘नाका खुलिहाल्ने आसा पनि थिएन । सरकारले नाका नखोलुन्जेल भारतकै सीमामा राख्छ कि भन्ने चिन्ता थियो,’ उनले भने, ‘बल्ल १ महिनापछि उद्धार भयो । केही ढिलै भए पनि आफ्नो देश फर्कन पाएका छौं । खुसी नै लागेको छ ।’

भारतीय क्वारेन्टिनमा बसेको एक महिनाभन्दा बढी भएपछि आफूहरु स्वदेश आउन पाउँदा निकै खुसी लागेको अर्का नेपाली लोकेन्द्र पार्कीले बताए । ‘सिमानामा आएर रोकिनु पर्दाको पीडा सबैभन्दा गाह्रो हुँदोरहेछ । अर्काको भूमिमा बन्दीजस्तै भएर आफ्नो देशको डाँडाकाँडा र पहाडहरु हेर्दै दिनरात काटियो । सम्झँदा पनि कहालीलाग्दो,’ उनी दिक्दारिए । उनले आफूहरुले जस्तो अबको पुस्ताले दुख भोग्नु नपरोस् भन्ने कामना पनि गरे । 

भारतीय सीमा नाकाबाट नेपाल भित्रिएकालाई सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउन १० वटा बस र थप जिपको व्यवस्था गरिएको थियो । भारतबाट नेपाल ल्याइएका सबैलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ । उनीहरु सबै जना एक महिनाभन्दा बढी भारतीय क्वारेन्टिनमा बसे पनि नेपाल सरकारको नीतिअनुसार सीमा नाकामै स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीको प्रमुख योगेशप्रसाद भट्टले बताए । उनका अनुसार नेपाल भित्रिएकाहरुको ज्वरो मापन गरिएको हो ।

दुवै देशको स्थानीय प्रशासनको सहमतिपछि एक महिनादेखि भारत पिथौरागढको धार्चुला र बैतडीको झुलाघाट नाकाको क्वारेन्टिनमा रहेका नेपाली मजदुरहरुको बिहीबार उद्धार भएको हो । बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच छलफल भएको थियो । सहमतिअनुसार उनीहरु बिहीबार बिहान साढे ८ बजेदेखि महाकाली पुलको ढोका खोलेर नेपाल भित्र्याउन सुरु गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार बिहीबार बेलुकीसम्म १ हजार २ सय ९६ जनालाई नेपाल ल्याइएको छ । खलंगा नाकाबाट ३ सय ७६ र दत्तु नाकाबाट ९ सय २० जनालाई नेपाल ल्याइएको हो ।

सबै नेपालीहरुको भारतीय स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमणको लक्षण नदेखिएको धारचुला तहशिलका उप-जिल्ला अधिकारी अनिल कुमार शुक्लाले बताए । ३५ दिन भारतीय क्वारेन्टिनमा बसेपछि नेपाल आउन पाएका उनीहरुलाई स्वास्थ्य चेकजाँच तथा खाजा खुवाएर सम्बन्धित जिल्लातर्फ पठाइएको प्रजिअ पौडेलले बताए । पुलको ढोका बेलुकी साढे पाँच बजे बन्द गरिएको भए पनि केही नेपाली अझै भारतमा रहेका कारण उनीहरुका लागि पुन: पुल खुलाउन पहल भइरहेको प्रजिअ पौडेलले बताए ।

प्रकाशित समय २२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु