गृहपृष्ठ भक्तपुर र कोटेश्वरमा दैनिक ६०० लाई निःशुल्क खाना

भक्तपुर र कोटेश्वरमा दैनिक ६०० लाई निःशुल्क खाना

बन्दाबन्दीको समयमा नेपाल स्वयंसेवक संघले भक्तपुर र कोटेश्वरका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको छ ।

संघका अध्यक्ष सन्तोष निरौलाले बाटोमा अलपत्र परेका मानिस, मजदुर, विद्यार्थी, कोठामा बस्ने र अस्पतालका बिरामीलाई गत चैत १५ गतेदेखि निःशुल्क खाना खुवाइरहेको जनाए । संघले बिहान ९.३० देखि १२ र साँझ ५ः३० देखि ९ बजेसम्म भक्तपुर, थिमि, सूर्यविनायक, भक्तपुर क्यान्सर अस्पताल र कोटेश्वरका विभिन्न स्थानमा पुगेर खाना खुवाउने गरेको छ ।

‘पकाएको खाना गाडीमा राखेर ती स्थानमा जाने गरेका छौँ,’ संघकी उपाध्यक्ष सीता सुवेदीले भने, ‘अनि बाटोमा हिँडिरहेका मानिस र मजदुरलाई खाना दिन्छौँ,’ उनले विभिन्न संघ संस्थासँग खाद्यान्न मागी खाना बनाएर खुवाएको बताए । खानामा दाल, तरकारी, भात र अचार रहने गरेको छ । खानाका लागि प्लाष्टिकका सामान प्रयोग गरिएको हुन्छ ।

उनका अनुसार खाना खुवाउनका लागि ३० स्वयंसेवक परिचालन गरिएको छ । पहिले दैनिक १५० जनालाई खाना खुवाउँदै गरेकामा अहिले ६०० जना पुगेका छन् । बिहान ३०० हुन्छन् भने साँझपख भने मानिसको संख्या बढ्ने गर्दछ । संघले विसं २०७२ को भूकम्प र विभिन्न ठाउँमा गएको बाढीपहिरोमा समेत यसैगरी खाना खुवाउने गरेको थियो । (रासस)

प्रकाशित समय १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु