गृहपृष्ठ प्रभावकारी भएन अनलाइन कक्षा, सबै विधार्थी समेट्न समस्या
प्रभावकारी भएन अनलाइन कक्षा, सबै विधार्थी समेट्न समस्या
लकडाउन अर्थात् बन्दाबन्दीका कारण विद्यालय तथा कलेजहरू बन्द भएपछि यतिबेला विद्यार्थीको पढाई अलपत्र भएको छ । यसैबीच कर्णालीका केही विद्यालय तथा कलेजहरुले अनलाइन कक्षा सुरु गरेका छन् । तर अनलाइन कक्षा प्रभावकारी भने हुनसकेका छैनन् ।
बजार क्षेत्रका विद्यार्थी अनलाइन कक्षाको पहुँचमा भए पनि बन्दाबन्दीका कारण गाउँ गएका विद्यार्थीहरू भने समेटिएका छैनन् । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले अनलाइन कक्षा प्रभावकारी नभएको बताए । ‘बन्दाबन्दीका कारण अधिकांश विद्यार्थी गाउँ गएका छन्,’ उनले भने, ‘इन्टरनेटकाे पहुँचमा भएका केही विद्यार्थीले मात्र अनलाइन कक्षा लिन पाए । बाँकीलाई समेट्न सम्भव देखिएन ।’
सबै विद्यार्थीसँग इन्टरनेटकाे पहुँच नभएको र विद्युत आपूर्तिसमेत पटक-पटक अवरूद्ध हुने समस्याले धेरै विद्यार्थी अनलाइन कक्षाको पहुँचबाहिर भएको अध्यक्ष खत्रीको भनाइ छ । उनले भिडियोभन्दा रेडियो र टेलिभिजन प्रभावकारी हुने बताए ।
कर्णालीको राजधानी सुर्खेत उपत्यकाका केही निजी विद्यालयले अनलाइन कक्षा सुरु गरेका छन् । चिल्ड्रेन प्याराडाइज बोर्डिङ स्कुलका शिक्षक हरि चालिसेले सबै विद्यार्थीलाई समेट्न नसके पनि हाल कक्षा ८, ९ र १० का लागि अनलाइन माध्यमबाट पठनपाठन भइरहेको बताए । उनले घर गएका विद्यार्थीलाई मध्यनजर गरी कोर्स भने अगाडि नबढाइएकाे बताए ।
उनले अभिभावकको सल्लाहबमोजिम इन्टरनेटकाे पहुँचमा भएका विद्यार्थीहरुलाई पढ्ने बानिको विकास होस् भनेर कक्षा सञ्चालन गरिएको बताए । त्यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालय अफ साइन्स तथा टेक्नोलोजीका उपप्रध्यापक पन्चदेव भट्टले सबै विद्यार्थी समेट्न नसकिए पनि अनलाइन कक्षा सञ्चालन गरिएको बताए । बन्दाबन्दीका समयमा घर गएका विद्यार्थीलाई सञ्चालन भएको कक्षा रेकर्ड गरेर पछि उपलब्ध गराउने गरी कोर्स अगाडि बढाइकाे उनले जानकारी दिए ।
प्रकाशित समय १६:२३ बजे

















