गृहपृष्ठ ‘रुपन्देहीका कोरोना संक्रमित तीन दिनअघि मुम्बईबाट लुकेर नेपाल आएका थिए’
‘रुपन्देहीका कोरोना संक्रमित तीन दिनअघि मुम्बईबाट लुकेर नेपाल आएका थिए’
रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । समरीमाई गाउँपालिका ७, बेतकुइया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नम्बर १ का एक र वडा नम्बर ४ का तीन जनामा कोरोना पुष्टि भएको समरीमाई स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले बताए ।
भैसागाहन क्वारेन्टाइनमा रहेकामध्ये वडा नम्बर १ का ४६ वर्षीय पुरुष भारतको मुम्बईबाट वैशाख २५ गते नेपाल फर्किएका थिए । उनी लुकिछिपी सीमा पार गरेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा लगेका थिए । यसैगरी सोही क्वारेन्टाइनमा रहेका अन्य तीन जना वैशाख २६ गते मुम्बईबाट आएका हुन् । क्वारेन्टाइनमा रहेका ४५, ३० र २६ वर्ष उमेरका तीनै जना पुरुष वडा नम्बर ४ का हुन् ।
सोही क्वारेन्टाइनमा रहेकी आफ्नी आमालाई चार दिन पहिले समरीमाई १ का अध्यक्ष शिवकुमार यादवले जबर्जस्ती घरमा लगेका थिए । स्थानीयबासी, सञ्चारमाध्यम र प्रशासनको दबाबपछि उनले पुनः क्वारेन्टाइन फिर्ता गरेका थिए ।
मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको थियो । उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्राबासमा रहेको क्वारेन्टाइनमा रहेका ४३ मध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए । पोजेटिभ देखिएका दुई जना चार दिन पहिले भारतबाट आएको उनले जानकारी दिए । (रासस)
प्रकाशित समय ०८:४५ बजे

















