गृहपृष्ठ बन्द भएको ५० दिनपछि खुल्दै सेयर बजार, २ प्रतिशतमै सर्किटको व्यवस्था

बन्द भएको ५० दिनपछि खुल्दै सेयर बजार, २ प्रतिशतमै सर्किटको व्यवस्था

फाइल तस्बिर

चैत ९ गते आइतबारको कारोबारसँगै बन्द भएको सेयर बजार आजदेखि खुल्ने भएको छ । लकडाउनका कारण ५० दिनदेखि बन्द भएको धितोपत्र बजार २ प्रतिशत वृद्धि वा ह्रास भएमा सर्किट लगाउने व्यवस्थासहित मंगलबारदेखि नियमित सञ्चालनमा ल्याउन लागिएको हो ।

नेपाल धितोपत्र बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलपछि दोस्रो बजार कारोबारलाई बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा सञ्चालनमा ल्याउने निर्णय गरिएको थियो । यसपछि बोर्डले मंगलबारदेखि सेयर बजार सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको थियो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मंगलबारदेखि सेयर कारोबार सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए । बोर्डको निर्देशनअनुसार सेयर बजार खुला गरिएको उनले बताए । बोर्डले धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य आइपिएस वा विद्युतीय माध्यमबाट गर्न गराउन पनि निर्देशन दिएको छ । त्यस्तै साउनदेखि पूर्ण रूपमा विद्युतीय माध्यम नै अवलम्बन गर्ने गरी तयारी अघि बढाउन पनि निर्देशन दिइएको बोर्डले जनाएको छ ।

कारोबारको सन्दर्भमा लगानीकर्तालाई सवारी पास आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्डमा सम्पर्क राख्ने व्यवस्था मिलाइएको छ । नेप्से, केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी), मर्चेन्ट बैंकरलगायतका कार्यालय भने आइतबारदेखि सञ्चालनमा आइसकेका छन् ।

चैत ९ गते आइतबार १८.०२ अंकले बजार घटेको थियो । १९ करोड ४६ लाख रुपैयाँको कारोबार भएको बजारमा होटल, निर्जीवन बिमा र अन्य समूहका लगानीकर्ताले मात्र कमाएका थिए । बजार पुँजीकरण १६ खर्ब छ ।

प्रकाशित समय ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु