गृहपृष्ठ चिकित्सकको उच्चस्तरीय टोली बाह्रबिसे जाँदै
चिकित्सकको उच्चस्तरीय टोली बाह्रबिसे जाँदै
बाह्रबिसे बजार । (फाइल तस्बिर)
सरकारले कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको गाउँमा सिन्धुपाञ्चोकको बाह्रबिसे नगरपालिकामा चिकित्सकको टोली पठाइरहेको छ । नेपालमा पहिलोपटक कोभिड- १९ को संक्रमणबाट महिलाको मृत्यु भएपछि त्यसबारे अध्ययन अनुसन्धान र संक्रमण फैलिन नपाओस् भनेर चिकित्सकको टोली पठाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रदेश र जिल्लाबाट चिकित्सकको टोली त्यहाँ पुगिसकेको छ भने संघका दुई टोली पनि त्यहाँ आजै पुग्दैछन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले डा. पुमा थापाको नेतृत्वमा तीन सदस्यीय विज्ञसहित चिकित्सकको टोली त्यसतर्फ आइतबार पठाउन थालिएको जानकारी दिए ।
शुक्रबार बाह्रबिसे नगरपालिकाकी २९ वर्षीया महिलाको कोभिड- १९ को कारणले नेपालमा पहिलोपटक निधन भएको थियो । डा. अधिकारीका अनुसार केहीबरेमा उक्त टोली आवश्यक सामग्री लिएर जाँदैछ । यसैगरी संघबाट वाग्मती प्रदेशमा खटिएका डा. राधिका थपलिया र डा. झलक शर्मा गौतमको दुई चिकित्सकको टोली पनि आज त्यसतर्फ जाँदैछ । डा. थपलियाले मृतकको गाउँ पुगेर कस्तो अवस्था रहेको छ भनेर अनुसन्धान गर्ने बताए ।
‘हामी त्यहाँ पुगेर वस्तुस्थितिका बारेमा अध्ययन गर्दछौँ, त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रले कसरी काम गरिरहेको छ, बाह्रबिसे नगरपालिकाका प्रमुख र उपप्रमुखसँग पनि बसेर त्यहाँको स्थिति पत्ता लगाउँछौँ,’ उनले भने । यसअघि उक्त ठाउँमा वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पनि डा. पुरुषोत्तम सेढाईँको नेतृत्वमा टोली आजै पठाइसकेको छ । जिल्लाबाट पनि मृतकको गाउँमा टोली कन्ट्याक्ट ट्रेसिङका लागि पुगिसकेको छ ।
प्रकाशित समय १४:३७ बजे

















