गृहपृष्ठ कोरोना संक्रमित युवक क्वारेन्टिनमै, जिल्ला अस्पतालले उपचार गर्न मानेन
कोरोना संक्रमित युवक क्वारेन्टिनमै, जिल्ला अस्पतालले उपचार गर्न मानेन
दैलेख आठबिस नगरपालिकाका ३५ वर्षीय कोरोना संक्रमित युवालाई उपचार गर्न जिल्ला अस्पतालले मानेको छैन । गत ५ गते कर्णाली स्वास्थ्य निर्देशनालयको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पाजेटिभ आएको थियो ।
सोही दिन बाँकेको नेपालगञ्जमा उनको नमूना पुनः परीक्षण गर्दा समेत रिपोर्ट पोजेटिभ नै देखिएको थियो । तर उनलाई स्थानीय लक्ष्मी माध्यमिक विद्यालय आठबिस नगरपालिकाबाट ३८ घण्टासम्म पनि अन्त सारिएको थिएन । हिजोमात्रै आठबिस नगरपालिकाबाट उनलाई नारायण नगरपालिका- ८ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको नगरपालिकाका सूचना अधिकारी शेरबहादुर सिजापतिले जानकारी दिए । अस्पतालले सम्पूर्ण उपचार सेवा दिनेगरी विद्यालयमा राखेको भन्ने जानकारी आएको सूचना अधिकारी सिजापतिले बताए ।
आठबिस नगरपालिका दैलेखकी उपप्रमुख दिपा बोहोराले मंगलबार संक्रमित युवालाई नारायण नगरपालिका लगिए पनि बुधबारसम्म विद्यालयमै राखिएको बताइन् । उनले जिल्ला अस्पतालका प्रमुखसँग कुरा भएको र अस्पतालको व्यवस्थापन गरेर लैजाने तयारी भएको बताइन् । ‘अस्पतालमा राम्रो भ्यान्टिलेटर छैन । सायद त्यसैले पनि अन्य अरु बिरामीलाई संक्रमण सर्ने डरले त्यहाँ नलगिएको हुनसक्छ,’ उनले भनिन् । अन्य स्थानमा भन्दा आफ्नो स्थानीय तहका बिरामीहरुलाई विभेदकारी व्यवहार भएको उपप्रमुख बोहोराले गुनासो गरिन् ।
यस विषयमा जिल्ला अस्पताल दैलेखका डा. निरञ्जन पन्तले विद्यालयको भवनलाई अस्पतालको रुपमा दुईमहिना अगाडिदेखि प्रयोग गरेको बताए । ‘अस्पतालको भवनमा सुत्केरीहरुलाई संक्रमण हुन सक्छ,’ उनले भने, ‘साँघुरो स्थान भएकाले विद्यालयको पक्की भवनलाई अस्पतालको रुपमा प्रयोग गरिएको हो ।’ नर्स तथा अक्सिजन सहितको सेवा उक्त विद्यालय भवनबाट आफूहरुले दिइरहेको उनको दाबी छ ।
प्रकाशित समय १७:३० बजे

















