गृहपृष्ठ झापामा हात्तीको आक्रमणबाट एक भारतीयको मृत्यु
झापामा हात्तीको आक्रमणबाट एक भारतीयको मृत्यु
दक्षिणी झापाको गौरीगन्ज गाउँपालिका २ लालमाटीमा जंगली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको हात्तीको आक्रमणबाट भारतको सिङ्गीमारी ६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो ।
मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासि भारतीय युवकलाई झम्टेको थियो । हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ । खबर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत साता पनि कचनकबलमा जंगलमा निगुरो टिप्न जाँदा हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको थियो । (रासस)
प्रकाशित समय ०७:०४ बजे

















