गृहपृष्ठ कोभिड–१९ संक्रमणका जोखिम समूह पहिचान

कोभिड–१९ संक्रमणका जोखिम समूह पहिचान

संक्रमण विस्तार रोक्न झन्डै ७ अर्ब रुपैयाँ आवश्यक

COVID 19_NewsKarobar

देशमा नोबल कोरोना भाइरस (कोभिड–१९)का संक्रमितहरूको संख्या २ हजार पुगेसँगै सरकारले सम्भाव्य जोखिम समूहको संख्यात्मक पहिचान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि तयार पारिएको ‘कोभिड–१९ नेपालः पूर्वतयारी तथा प्रतिक्रिया योजना (सीपीआरपी)’ले संक्रमित संख्या १० हजार र १ लाख पुगेको दुई सन्दर्भमा जोखिम समूहको वर्गीकरण गरेको छ ।

संयुक्त राष्ट्र संघ नेपाल कार्यालयद्वारा नेपाल सरकारका लागि तयार पारिएको यो योजनाअनुसार संक्रमितहरूको संख्या १० हजार पुगेको अवस्थामा ५ हजार ४५ जना महिला र ४ हजार ९५५ जना पुरुष संक्रमित हुनेछन् ।

कुल संक्रमितमध्ये प्रजनन उमेरका महिला २५००, २०० जना अपांगता भएका व्यक्ति, ४०० जना गर्भावती महिला, ८५५ जना जेष्ठ नागरिक, २२० जना नवजात शिशु, १०६० जना दूध खाँदै गरेका बालबालिका, १६६० जना उच्च रक्तचापका बिमारी, ३९५ जना मधुमेहका बिमारी र २२० जना मुुटुजन्य रोगका बिमारी प्रभावित हुने प्रतिवेदनले जोखिम औंल्याएको छ ।

प्रतिकार्य योजनामा क्षेत्रगत रूपमा कोभिड–१९ को संक्रमणका पूर्वतयारी र त्यससँग जुझ्ने कार्यहरूका लागि ६ अर्ब ८९ करोड रुपैयाँ आवश्यकता पर्ने औंल्याइएको छ, जसमा स्वास्थ्यसँग सम्बन्धित पूर्वतयारीका लागि १ अर्ब १५ करोड र प्रतिरक्षा कार्यक्रमहरूका लागि २ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ आवश्यक पर्ने जनाइएको छ ।

प्रतिकार्य योजनामा कोभिड–१९ को विस्तार रोक्नका लागि अबलम्बन गरिएको घरबन्दीका कारण आर्थिक सामाजिक क्षेत्रमा पारेको असर, त्यसले खाद्य सुरक्षामा पारेको असर रोक्नका लागि पनि कम्तिमा ६० करोड ४० लाख रुपैयाँ आवश्यक पर्ने उल्लेख छ ।

योजनामा हाल प्रदान गरिरहिएको असंगठित क्षेत्रका श्रमिक तथा गरिब वर्गका लागि खाद्यान्न सहयोगबाहेक खाद्य सुरक्षाको अत्याधिक जोखिम रहेको भौगोलिक रूपमा लक्षित क्षेत्रका लागि एक निःशर्त नगद सहयोग वा वैकल्पिक विधिबाट ससर्त नगद सहयोग दिनसमेत सुझाव दिइएको छ ।

प्रतिकार्य योजनामा विभिन्न ११ वटा क्षेत्र/समूह बनाइ तिनका लागि आवश्यक पूर्वतयारी र प्रतिरक्षा कार्यक्रमहरू प्रस्तावित गरिएका छन्, जसमा योजना, संयोजन, अनुगमनदेखि स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाइ, पोषण, आवास, शीघ्र बहालीदेखि भाैतिक सुविधा व्यवस्थापनसमेत सामेल छ ।

प्रकाशित समय १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु