गृहपृष्ठ तिलोत्तमा १० का अध्यक्ष भन्छन्‑ किन र कसरी घटना भयो, हामी अचम्मित छौँ
तिलोत्तमा १० का अध्यक्ष भन्छन्‑ किन र कसरी घटना भयो, हामी अचम्मित छौँ
रुपन्देहीको गंगादेवी पशु फार्ममा एकाबिहानै पाँच जनाको हत्या भएको खबरले तिलोत्तमा नगरपालिका १० मैनहवा शोकमा डुबेको छ । सोमबार राति भएको घटनाबारे बिहान ६ बजेतिरमात्र स्थानीयले थाहा पाए । तिलोत्तमा नगरपालिका १० का अध्यक्ष व्यास मुन थारू घटना किन र कसरी भयो भन्नेमा सबै अचम्मित रहेको बताउँछन् ।
बाँकी उनकै शब्दमा‑
हामीले बिहान ६ बजेमात्र घटनाबारे थाहा पायौँ । कतिबेला हत्या भयो ? केही थाहा छैन । गोठमा २०‑२५ वटा भैँसी र चार‑पाँचवटा गाई छन् । त्यसका लागि तीन जना नियमित ज्याला मजदुरी गर्ने गर्थे । उनीहरू स्थानीय हुन् । अहिले हत्याको आरोप लागेका सुर्खेतका युवा वैशाखमा मात्र त्यहाँ आएका रहेछन् । दुई महिनाअघि सुर्खेतबाट आएको व्यक्तिले आफूलाई दुःख दिएकाले हत्या गरेको वयान दिएका छन् । यो झनै शंकास्पद छ । हत्या भएका दुई जना किन त्यहाँ आएका थिए भन्ने खुलेको छैन । प्रहरीको अनुसन्धानपछि बाहिर आउला ।
अत्यन्तै बीभत्स ढंगले हत्या गरिएको छ । सबैलाई छुट्टाछुट्टै स्थानमा हत्या गरेर तान्दै एकैठाउँमा राखिएको रहेछ । मृतक सबै स्थानीय गरिब मान्छे हुन् । मृतकका परिवार आँशुमा डुबेका छन् । गाउँ नै शोकमग्न भएको छ ।
प्रकाशित समय ११:११ बजे

















