गृहपृष्ठ जनस्तरबाटै उल्लंघन हुन थालेपछि सरकारले गर्यो घरबन्दी खुकुलो
जनस्तरबाटै उल्लंघन हुन थालेपछि सरकारले गर्यो घरबन्दी खुकुलो
अन्ततः जनस्तरबाटै घरबन्दी उल्लंघन हुन थालेपछि सरकारले बाध्य भएर आंशिक रूपमा भन्दै खुकुलो बनाएको छ । तीन चरणमा घरबन्दी खुकुलो पार्ने योजनाअन्तर्गत पहिलो चरणमा होटल, रेष्टुँराबाहेक उद्योग, व्यवसाय र सरकारी कार्यालय खुला गर्ने निर्णय गरिएको छ ।
व्यक्तिहरूका पैदल आगमन खुला गर्ने, मोटरसाइकल, साइकल चल्न दिने पनि सरकारले निर्णय गरेको छ । मोटरसाइकलमा भने २ जनाले सँगै यात्रा गर्न नपाउने भएका छन् ।
उपत्यकासहित अन्य जिल्लाका हकमा सम्बन्धित जिल्लाभित्रमात्र जोर-बिजोर प्रणालीमा सञ्चालन हुने गरि निजी सवारी साधन चलाउन दिने सरकारले निर्णय गरेको छ । यस्ता सवारी साधनमा चालकबाहेक २ जनामात्र बस्न पाउने नियम लागू गरिएको छ ।
खाद्य पदार्थबाहेक सपिङ मल, डिपार्टमेन्ट स्टोर, ‘टेक अबे’ सेवाबाहेकका रेष्टुँरा तथा होटल, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायत सेवाबाहेक अन्य व्यवसाय सञ्चालनका लागि अनुमति दिइएको हो ।
‘उद्योग, व्यापार, व्यावसाय, पसल र डिपार्टमेन्टल स्टेरहरू खुला गरिएका छन्,’सरकारका प्रवक्ता अर्थ र सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘सपिङ मलहरू खुला गरिएको छैन, डिपार्टमेन्ट स्टोरहरू खुला गरिएको छ । यो खाद्य वस्तुहरूको बिक्रीवितरण सहज पार्नका लागि हो ।’
मन्त्री खतिवडाले निजी क्लिनिकसहितका स्वास्थ्यसँग सम्बन्धित सेवा, कृषिसँग सम्बन्धित सबै व्यवसाय, उत्पादनदेखि बिक्रीवितरणसम्म सबै खुला गरिएको जानकारी दिए ।
उनका अनुसार यसअघि आधारभूत वस्तुहरूको ढुवानी सेवा आंशिक सञ्चालनका लागि अनुमति दिइएकोमा अब सबै प्रकारका ढुवानी सेवा सञ्चालनका लागि खुला गरिएको छ भने फोहरमैला व्यवस्थापनदेखि विगतकै निर्णयअनुसारका विद्युत, दमकल, सञ्चार प्रशारणसहितका सेवा सञ्चालन हुनेछन् ।
यसअघि सीमित रूपमा खुला गरिएका बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवालाई पूरै खुला गरिएको छ भने नर्सरी र वनजन्य उद्योग-व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएकाे मन्त्री खतिवडाले जानकारी दिए ।
विकास आयोजनाहरू र तिनका लागि आवश्यक निर्माण सामग्री आपूर्ति सहजीकरणका लागि नदीजन्य वस्तुलाई पनि खुला गरिएको छ ।
सरकारी कार्यालयहरू दुई सिफ्टमा
मन्त्री डा. खतिवडाका अनुसार भीडभाड कम गर्नका लागि सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, निजी र गैर सरकारी संस्थाका कार्यालय, बैंक तथा वित्तीय संस्था सबै दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय भएको छ ।
यसअनुसार बिहान ८ बजेदेखि १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने मन्त्री डा. खतिवडाले बताए । उनले आगामनमा भीडभाड नहोस् र कार्यस्थलमा भीडभाड नहोस् भनेर दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय भएको बताए ।
उद्योग र निजी सेवाका कार्यालयमा कार्यरत कर्मचारीहरू आवतजावतमा सहजीकरणका लागि जोर-बिजोर प्रणालीका आधारमा सवारी सञ्चालन गर्न दिइने र तिनमा एक लहरका सिटमा एक जनामात्रै बस्न दिने गरी सञ्चालन गर्न दिने निर्णय भएको उनले बताए ।
प्रकाशित समय १८:४१ बजे

















