गृहपृष्ठ नेपाल-चीनबीच सीमा विवाद छैन, तथाकथित प्रतिवेदन बनाउनेलाई कारवाही हुन्छ : परराष्ट्रमन्त्री

नेपाल-चीनबीच सीमा विवाद छैन, तथाकथित प्रतिवेदन बनाउनेलाई कारवाही हुन्छ : परराष्ट्रमन्त्री

नयाँ नक्सा जारी भएपछि पनि भारतसँग निरन्तर सम्पर्क

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल-चीनबीच सीमासम्बन्धमा विवाद नरहेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर उनले केही सञ्चारमाध्यमले नेपालको भू-भाग चीनले अतिक्रमण गरेको भन्ने ‘फेक न्यूज’ सम्प्रेषण गरेको भन्दै दुई देशको सम्बन्धलाई असर पर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे ।

‘नेपालका केही भू-भाग चीनले अतिक्रमण गर्‍यो भन्ने समाचार सार्वजनिक भयो, नेपालको भू-भाग चीनतर्फ पनि चारकिल्लामा सीमा अतिक्रमण गरेको भन्ने समाचार कसरी आयो ?’ मन्त्री ज्ञवालीले भने, ‘सो कल्ड प्रतिवेदन कसले कसरी बनायो, त्यसको बारेमा सरकारले अध्ययन गरिरहेको छ, गलत सूचनाले दिग्भ्रमित बनाउँछ, त्यस्तो काम नगरौँ ।’

मन्त्री ज्ञवालीले दुई देशको सुमधुर सम्बन्धमा असर पार्ने संवेदनशील समाचार प्रकाशन नगर्न र भ्रमपूर्ण समाचार नछाप्न आग्रह गर्दै नेपाल-चीनबीच सीमासम्बन्धी कुनै पनि समस्या नभएको स्पष्ट पारे ।

उनका अनुसार दुई देशबीच सीमासम्बन्धी शान्ति तथा मैत्री सन्धिमा संयुक्त रुपमा हस्ताक्षर भएको छ । हरेक १०/१० वर्षमा सीमाको निरीक्षण गर्ने समेत सहमति भइरहेको जानकारी गराउँदै उनले तेस्रो पटकको सीमा निरीक्षणले सीमा सत्यता होस् भन्नका लागि भौगोलिक सीमा स्तम्भ राखिने निर्णय गरिएको बताए । पश्चिमतिर त्रिदेशीय विन्दुका विषयमा भने टुंग्याउने तयारी भइरहेको उनले जानकारी गराए ।

मन्त्री ज्ञवालीले नेपालको नयाँ नक्सा जारी भएपछि उत्पन्न विवादलाई समाधान गर्नका लागि मित्रराष्ट्र भारतसँग निरन्तर सम्पर्कमा रहेको र नेपाल-भारतबीच सम्बन्ध राम्रो रहेको सदनलाई जानकारी गराए । ‘कूटनीतिक माध्यमबाट नै समस्या समाधान हुन्छ भन्ने मान्यता र विश्वास छ,’ मन्त्री ज्ञवालीले भने, ‘दुई देशको बहुआयामिक सम्बन्धलाई असर पार्ने कुनै पनि काम हुदैन, कुनै समस्या नपरोस् भन्नेमा सरकार सजग छ, यसमा सबैको सहयोग हुन जरुरी छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामनारायण विडारी, नेपाली कांग्रेसका प्रकाश पन्थ र समाजवादी पार्टीका प्रमिला कुमारीले दुई देशको मित्रतामा खलल पुर्‍याउनेलाई कानुनी कारवाही गर्नुपर्ने सुझाव दिँदै नेपालको नयाँ नक्शा जारी भएपछि भारतसँगको कूटनीतिक सम्बन्धका बारेमा जिज्ञासा राखेका थिए ।

उक्त सुझावबारेमा मन्त्री ज्ञवालीले सदनमा सांसदले तथ्यमा आधारित भएर मात्र बोल्नुपर्ने आग्रह गरे । ‘नेपालमा मिडिया व्यावसायिक बन्ने क्रममा छन्, गलत सूचना बेलाबेलामा आउन सक्छन्, पत्रिकामा केही आउनेवित्तिकै सांसदले अध्ययन नगरी बोलीहाल्दा राम्रो हुदैन,’ उनले भने, ‘सदनमा सांसदले तथ्यमा आधारित भएर मात्र बोल्नुपर्छ, विदेश नीति र राष्ट्रिय सुरक्षा धेरै महत्वपूर्ण कुरा हुन्, यस्ता कुरालाई ध्यान दिनुपर्छ, त्यस्ता तथाकथित प्रतिवेदन कहाँ बनाइयो, त्यसलाई कानुनी कारवाही हुन्छ ।’

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु