गृहपृष्ठ सेयर लगानीकर्ताको मनोबल वृद्धि, तीन कम्पनीको मूल्यमा उछाल

सेयर लगानीकर्ताको मनोबल वृद्धि, तीन कम्पनीको मूल्यमा उछाल

सेयर बजार परिसूचक (नेप्से) १२ अंकले घटेर बन्द हुँदा तीनवटा कम्पनीको मूल्यमा उछाल आएको छ । सोमबार ९९ दिनपछि नियमित खुलेको धितोपत्रको दोस्रो बजार केही उतारचढावबीच १२.८७ अंकले घटेर ११८८.७ अंकमा झरेको हो ।

लकडाउनका बीच वैशाख ३० र ३१ गते बजार खुले पनि बिक्रीकर्ताको एकोहोरो चापका कारण दिनभर कारोबार हुन सकेको थिए । दुवै दिन छोटो समयमै नकारात्मक सर्किट लागेर बजार बन्द भएपछि लगानीकर्ताका साथै नियामक धितोपत्र बोर्ड पनि आत्तिएको थियो । बोर्डले कारोबार समयका साथै सर्किटका विधिसमेत परिमार्जन गरी बजार खुलाए पनि तीव्रगतिमा घटेपछि तेस्रो दिनदेखि बन्द गरिएको थियो ।

चैत ९ गतेपछि बन्द भएको बजार सोमबार भने नियमित हिसाबले खुलेको हो । सोमबार पनि बजार खुलेको केही समयसम्म लगातार घटेको बजारमा ४ प्रतिशत गिरावट आएपछि पहिलो नकारात्मक सर्किट लाग्यो । त्यसपछि खुलेको बजार बढेर १२ सय अंक पार गरे पनि टिक्न सकेन र घटेर बन्द भयो ।

सेयर बजारको आजको प्रवृत्तिले लगानीकर्ताको मनोबल बढेको देखाएको छ । लगातार घटेको बजारमा नकारात्मक सर्किट लागे पनि लगानीकर्ता सम्हालिएका थिए ।

सोमबार १३० कम्पनीको ९ लाख ७० हजार ७६ कित्ता सेयर ३४ करोड ७७ लाख ७१ हजार रूपैयाँबराबरमा किनबेच भएको छ । कारोबार भएकामध्ये १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी र नेपाल इन्भेस्मेन्ट बैंकको साधारण तथा संस्थापक सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । शिवम् सिमेन्टको मूल्य पनि ८.५ प्रतिशत बढ्यो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेपछि त्यसको सकारात्मक प्रभाव लगानीकर्तामा परेको छ । बैंकले १६ महिनापछि न्याय पाउँदा २ अर्ब चार करोड रुपैयाँ फिर्ता पाएको छ । यससँगै कम्पनीको नाफा बढ्ने र खराब कर्जा घट्ने लगानीकर्ताको विश्वास छ ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु