गृहपृष्ठ २५ जिल्लामा फैलिसक्दा पनि सलह नियन्त्रणको छैन योजना
२५ जिल्लामा फैलिसक्दा पनि सलह नियन्त्रणको छैन योजना
शनिबार नेपालमा भित्रिएको सलह किराले कृषकदेखि सरकारी निकायसम्मलाई तनाव थपेको छ । कोरोनाभाइरस महामारीसँगै आएको फौजी किराले मकैखेतीमा ठूलो क्षति पुर्याएको अवस्थामा सलह भित्रिएपछि भोकमरी लाग्नसक्ने भन्दै किसानहरुले चिन्ता व्यक्त गरेका हुन् ।
अरेबियन देश हुँदै इरान, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपालमा उत्तर–दक्षिण हावा चलेका कारण सहल प्रवेश गरेको विज्ञहरुको भनाइ छ । असार १६ गते दिउँसोसम्ममा नेपालका २५ जिल्लामा सलह पुगिसकेको छ ।
सलह नेपालमा लामो समयपछि प्रवेश गरेको हो । हावाको दिशाअनुसार उड्ने किरा प्रवेश गरेपछि बालीनालीमा मात्रै नोक्सान नभई रुख-बिरुवालाई पनि असर गर्ने विज्ञहरु बताउँछन् । पानी परेका बेला र रातमा सलह एकै स्थानमा बस्ने र बिहान घाम लागेपछि मात्रै सक्रिय हुने भएकाले यसलाई नियन्त्रण गर्न पनि मुस्किल परेको कृषि मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए ।
सलह नियन्त्रणका लागि कृषि मन्त्रालयले जेठ १३ गते नै गठन गरेको सलह प्राविधिक कार्यदलले प्रतिवेदन दिएको, प्रतिवेदन सबै सम्बद्ध निकायमा पठाइसकिएको र आवश्यक प्राविधिक ज्ञान प्रकाशित गरिसकिएको उनले बताए । तर, प्रदेश तथा स्थानीय तहलाई भने यसबारेमा कुनै जानकारी छैन ।
सलह नियन्त्रणका लागि बेलैमा विश्व खाद्य तथा कृषि संगठन (एफएओ)सँग सहयोग र समन्वयको अभावले बढी क्षति पुग्ने विज्ञहरु बताउँछन् । पाकिस्तान र भारतका केही प्रान्तका किसानले सलह किराको प्रकोपका कारण बालीनाली पुरै संकटमा परेपछि थाल ठटाउने, पटाका पड्काउनेलगायतका उपाय गरी सलह लखेटिरहेका भिडियो बेला–बेलामा सामाजिक सञ्जालमा देखिएका छन् ।
कति जिल्लामा फैलियो सलह, क्षति कति ?
नेपालमा भित्रिएको सलहले खासगरी पाँच जिल्लामा अड्डा जमाएको छ । पाल्पा, कपिलवस्तु, मकवानपुर, सिन्धुली र काभ्रेका विभिन्न ठाउँहरुमा झुन्ड जस्तो बनाएर सलह बसेका छन् । यसबाहेक अन्य २० जिल्लामा पनि सलह पुगिसकेको छ ।
सिन्धुलीबाट आएको सलहले चितवनको रत्ननगरमा पनि स–साना झुन्डहरु बनाएको सलह सूचना केन्द्रका प्रमुख सुवेदीले जानकारी दिए । चितवनको रत्ननगरमा आएको सलहले धानमा क्षति पुर्याएको छ । ‘चैते धानमा लागेको र आँपको रुपमा पनि सलहले क्षति पुर्याएको भन्दै त्यहाँका किसानले हामीलाई खबर गरेका छन्,’ उनले भने, ‘त्यस्तै किराले मकवानपुरमा करिब एक हजार रोपनीमा लगाएको मकैमा नोक्सानी पुर्याएको छ ।’
हावामार्फत् उडेर जाने हुँदा हिमालमा पनि सर्ने सम्भावना प्रबल रहेको सुवेदी बताउँछन् । उनका अुनसार हिमालमा यो किराले असर गर्दैन किनकि चिसोमा केही समयमै मर्ने गर्छ र प्रजनन् दर पनि बढ्न पाउँदैन ।
नेपालमा सन् १९६२ पछि सलह भित्रिएको हो । यो किराले अन्नबाली मात्रै होइन, रुखका बोक्रा पनि खाने गर्छ । ‘नेपालमा नयाँ जस्तै भएको हुँदा यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेमा हामी पनि सल्लाहमै छौं,’ उनले भने, ‘धेरै वर्षपछि नेपालमा भित्रिएको हुँदा यो किराबारे हामी सबैलाई खासै जानकारी छैन । तैपनि यस्ता किरा झुन्डमा बस्ने हुँदा झुन्ड पत्ता लगाएर औषधी छर्कने हो भने नियन्त्रण गर्न सकिन्छ ।’
मन्त्रालयको तयारी
सलह किरा नियन्त्रणका लागि नेपाल सरकार तथा कृषि मन्त्रालयले मातहतका निकायमा पत्राचार गरेको छ । प्रदेशले पनि आफ्नो क्षेत्रतिर विशषेज्ञको टोली परिचालन गरेको छ ।
संघीय सरकारले मातहतका निकाय तथा प्रदेश र स्थानीय तहमा पत्राचार गरे पनि सरकारसँग सलह नियन्त्रण गर्ने कुनै तयारी छैन । पानी परेका बेलामा जंगलमा बस्ने र घाम लागेका बेलामा मात्रै बारीमा देखिने हुँदा यसलाई मार्न पनि नसकिने उनले बताए ।
‘रातमा र पानी परेको बेलामा जंगलमा बस्छ, जंगलमा पनि ठूल्ठूलो रुखमा बस्ने हुँदा किटनाशक औषधी छर्कन सकिने अवस्था छैन । जंगल पनि कुन ठाउँमा बस्छन् भन्ने जानकारी पाउनै मुस्किल हुन्छ,’ उनले भने ।
सलहले प्रजनन् दर बढाउने होइन
‘सलह किरा सिजनल जस्तै हो, एक डेढ महिनामै हराउँछ,’ कृषि मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत सुवेदी भन्छन्, ‘यो किराले प्रजनन दर बढाउँदैन । यसलाई मार्न सक्ने हो भने नियन्त्रण हुन्छ ।’
केही स्थानीय तहले सलह प्रतिकिलो २०–२५ रुपैयाँमा किन्ने घोषणा गरेका छन् । कृषि विज्ञ मदन राईले पनि सलह सय रुपैयाँ प्रतिकिलो किन्ने बताएका छन् । यसमा पनि सुवेदीको पूर्ण समर्थन छ । प्रजनन दर नबढाउने हुँदा समाएर नष्ट गर्न सके धेरै नियन्त्रण हुने उनले बताए ।
सलहले बाली नाली मात्रै होइन, हरियो रुखलाई पनि क्षति पुर्याउने सुवेदी बताउँछन् । सलह नियन्त्रण गर्नका लागि यसको झुन्ड नै नष्ट गर्नुपर्ने र थोरै–थोरै नष्ट गर्दा पनि केही हदसम्म कम हुने उनले जानकारी दिए ।
स्थानीय तहमा कस्तो तयारी ?
संघीय सरकारले नै कुनै ठोस योजना नबनाएको अवस्थामा स्थानीय स्तरमा सलह नियन्त्रणका लागि धेरै प्रयास देखिने कुरो भएन । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले भने, ‘संघीय सरकार सलह नियन्त्रणमा निरुपाय बनेको अवस्थामा हामी के नै गर्न सक्थ्यौँ तर पनि यी किरा नियन्त्रणका लागि हामी लागिरहेका छौं । प्रदेशबाट पनि टोली आएको छ ।’
आइतबार मकवानपुरगढी गाउँपालिका ७ का दुई ठाउँमा सलहका झुन्ड देखिएका थिए । ‘हामीले किटनाशक औषधी प्रयोग गर्यौँ, दुई–चारवटा त मरेका देखिन्थे । भोलिपल्ट हेर्दा हामीले सोचेभन्दा पनि बढी देखिए,’ उनले भने ।
समुद्री सतहभन्दा करिब एक हजार मिटर अग्लो ठाउँमा पनि सलह किराको प्रकोप देखिएकाले स्थानीयहरु एकदमै त्रसित भएका छन् । अध्यक्ष हुमागाईंले भने, ‘यसबारेमा हामीलाई जानकारी खासै छैन । तैपनि कृषि विज्ञहरुको टोली, प्रदेशको टोलीलगायत करिब दुई सय जनाको टोली सलह नियन्त्रणका लागि आएका छन्, आशा गरौँ, कुनै उपाय फेला पर्नेछ ।’
प्रकाशित समय १७:२९ बजे

















